काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसबारे रिसर्च गरिरहेका एक चिनियाँ शोधकर्ता हत्याले अहिले पूरै विश्व तरंगित बनेको छ। ती चिनियाँ शोधकर्ताको षड्यन्त्रपूर्ण हत्या गरिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भइरहेको छ।

अमेरिकाको पिट्सबर्गमा बसोबास गर्ने ३७ वर्षीय बिंग ली गत शनिबार आफ्नै घरमा मृत फेला परेका थिए। उनी युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत थिए। 

लीसँगै काम गर्नेहरुका अनुसार ली कोरोनाभाइरसमाथि गहिरो खोज गरिरहेका थिए र उनी करिबकरिब नतिजामा पुग्न लागेका थिए। लगत्तै अनलाइन मिडियाहरुमा लीको हत्या भएको खबर एकाएक भाइरल भयो। 

स्थानीय प्रहरीका अनुसार लीको टाउको, घाँटी, हात र खुट्टामा गोली हानिएको छ। गोली हान्ने पनि पहिचान भइसकेको र उनी एक सफ्टवेयर इन्जिनियर रहेको प्रहरीले जनाएको छ। 

लीलाई गोली हान्ने व्यक्ति ४६ वर्षीय हाउ गु रहेको पहिचान गरिएको छ। उनले लीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको दाबी छ। ‘यो हत्या अनि आत्महत्याको केस हो, हामी गहिराइका साथ अनुसन्धान गरिरहेका छौँ’, प्रहरीको भनाइ छ।

अधिकारीहरुका अनुसार ली र हाउ निकै मिल्ने साथी थिए। हाउले लीको किन हत्या गरे भन्नेबारे खुल्न सकेको छैन। यसैगरी लीलाई कोरोनाभाइरसमाथि शोधकै कारण हत्या गरिएको हो भन्ने प्रमाण पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

लीका सहकर्मी अर्का प्रोफेसरले ली कोरोनाभाइरसको निकै महत्वपूर्ण खोजको करिबकरिब अन्त्यतिर पुगिसकेको अवस्थामा हत्या भएको दाबी गरे। उनले अब यो महत्वपूर्ण खोजको अँधुरो काम आफूहरुले पूरा गर्ने र यो नै लीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। 

लीले सिंगापुरबाट स्नातक पूरा गरेका थिए। उनले पीएचडी उपाधि अमेरिकाबाट हासिल गगरेका थिए। त्यसपछि उनी अमेरिकामा कोरोनाभाइरसमाथि खोजमा जुटेका थिए। 

चिनियाँ सोसल प्लेटफर्म वीबोमा एक युजरले लेखेका छन्– ‘ओ माई गड, यस्तो लाग्छ यो मसिन इम्पोसिबलको कहानी हो। सायद ली यो भाइरस अमरिकाको ल्याबमै तयार भएको नतिजासम्म पुगिसकेका थिए।’

चिनियाँ अधिकारी र सरकारी मिडियाले यसअघि नै अमेरिकाको ल्याबमा यो भाइरस तयार भएको र अमेरिकी सेनाको मद्दतबाट वुहानमा ल्याएको आधारहीन दाबी गर्दै आएका छन्।

केही वीबो युजर्सले यो घटना संयोगमात्र भएको बताएका छन्। केहीले भने यो असामान्य घटना भएको र यसमा थुप्रै रहस्यहरु लुकेको लेखेका छन्। – बीबीसी