काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै ५५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

अमेरिकामा बिहीबार रातिसम्म ५५ हजार २७४ जना संक्रमित भएका हुन्। जुन एकैदिन यतिधेरै संख्यामा कोरोनाबाट संक्रमित भएको पहिलोपटक हो। 

यसअघि यो रेकर्ड ब्राजिलको नाममा थियो। त्यहाँ गत जुन १९ का दिन ५४ हजार ७७१ जना संक्रमित भएका थिए। 

करिब २ हप्ताअघि अमेरिकामा दैनिकजसो २२ हजार बढी संक्रमित हुँदै आएका थिए। तर पछिल्लो ७ दिनयता दैनिकजसो अमेरिकामा ४० हजारभन्दा बढी संक्रमित हुँदै आएका छन्।

जुन महिना लागेयता अमेरिकाका ५० राज्यमध्ये ३७ राज्यमा नयाँ मामिलाको तीव्रगतिमा बढिरहेको छ। 

केही दिनअघि मात्रै अमेरिकाका महामारी रोग विशेषज्ञडा एन्थनी फाउचीले अमेरिकामा कोरोना संक्रमणको मामिला दैनिक १ लाख आउने सक्ने चेतावनी दिएका थिए। जसरी अमेरिकामा कोरोना टेस्टिङको सुविधा विस्तार गरिएको छ त्यति नै त्यहाँ संक्रमणको मामिला ठूलो संख्यामा बाहिर आइरहेको छ। अस्पतालमा पनि कोरोना संक्रमितको भर्ना दर ह्वात्तै बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

हालसम्म अमेरिकामा कोरोनाबाट २८ लाख ३७ हजार १८९ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ३१ हजार ४८५ जनाको ज्यान गइसकेको  छ भने ११ लाख ९१ हजार ०९१ जना निको भएर घर फर्किएका छन्।

विश्वभर भने हालसम्म कारोनाबाट १ करोड ९ लाख ९० हजार २४९ जना संक्रमित भइसकेका छन्। जसमध्ये ५ लाख २४ हजार १७६ जनाको मृत्यु भइसकेको छ भने ६१ लाख ४९ हजार ८८१ जना निको भएर घर फर्किसकेका छन्। – एजेन्सी