-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट ब्रोकर नम्बर ४८ को रुपमा ब्रोकरेज सेवा संचालनको अनुमति पाएको त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड काठमाण्डौको पुतलीसडकस्थित शंकरदेव क्याम्पस नजिकै रहेको छ । 

कार्यकारी अध्यक्षका रुपमा यो कम्पनीको कमान सम्हालेका टंकप्रसाद गौतम स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष समेत हुन् । 

पुख्र्यौली घर रामेछाप सुनापति गाउँपालिका रहेका गौतम हाल काठमाण्डौ तीनकुनेमा बसोबास गर्छन् । 

नेपाल कमर्श क्याम्पसबाट एमबीएस र युके बोर्डबाट एसीसीए समेत उत्तीर्ण  उनले सुरुमा इन्टरनेसनल एयरलायन्समा करिब ४ वर्ष र कतार एयरवेजमा करिब ८ वर्ष काम गरेका थिए ।

व्यक्तिगत स्वभाव र जागिरका विकल्पका रुपमा आफ्नो ज्ञान र सीप निखार्नका लागि ब्रोकर पेशालाई व्यवसाय बनाएको गौतमको ठम्याई छ । 

संयोगले ब्रोकर पेशा अँगाल्न पुगेको बताउने उनलाई ब्रोकर पेशा विश्वभर सुपरिचित व्यवसाय भएकै कारणले समेत यस क्षेत्रमा होमिएको सुनाए । 

कतार एयरवेजबाट १ महिनाको बिदा लिएर अमेरिका जाने प्रक्रिया बुझ्न खोज्दा बिदा बसेकै भोलिपल्ट नेप्सेले अखबारमा ब्रोकर लाइसेन्स लिन चाहनेका लागि सूचना जारी गरेको र नेपालमा बसेर वित्तीय क्षेत्रमा केही गर्न सकिन्छ भन्ने ठानेर अमेरिका जाने सोचलाई त्याग्दै ब्रोकर लाइसेन्स लिएको उनले विगत कोट्याए ।

स–साना लगानीकर्ता वा खुद्रा ब्रोकरका रुपमा चिनाउन खोज्ने त्रिशक्तिका कार्यकारी अध्यक्ष गौतम आफ्नो कम्पनीलाई सेवा र कारोबारका आधारमा औसतभन्दा माथिको ब्रोकरेज हाउसको रुपमा चिनाउन चाहन्छन् ।

नेप्सेमा नामसारी र फ्लोरसिट जस्ता ब्याकअफिसको सहज उपलब्धताका लागि आफूले धेरै समन्वय गरेको उनको भनाई छ । 

आफूहरुले ग्राहकबाट बलियो विश्वास पाएको दाबी गर्ने उनले आफ्नो कम्पनीमा प्रोफेसनल क्लाइन्ट र प्रोफेसनल सर्भिस रहेको बताए ।

त्रिशक्ति सेक्युरिटीजको स्थापना २०६४ साल पुस १० गते भएको हो । ७ जना प्रमोटर रहेको कम्पनीमा ४ करोड २० लाख चुक्तापूँजी रहेको छ । २० जना कर्मचारी रहेको कम्पनीको उपत्यका बाहिर पोखराको न्यूरोडमा शाखा रहेको छ । कम्पनीले हालसालै थप १० शाखा  विस्तारका लागि धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ ।

सुरुवातीदेखिकै डीपी सेवा दिइरहेको कम्पनीमा १२ हजारले डिम्याट खाता खोलेका छन् । उनको ब्रोकरेज हाउसमा अपडेटेड केवाइसी करिब ५ हजार रहेकोमा दैनिक सक्रिय कारोबारी २५ जना औसत रहेका छन् । 

त्रिशक्तिमा संस्थागत लगानीकर्ताको संख्या १ सय बढी रहेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७७ कम्पनीका ११ लाख ५७ हजार कित्ता खरिद र १३ लाख ५० हजार कित्ता बराबरको बिक्री भएको कम्पनीले जानकारी दिएको छ ।

बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय रहेको कम्पनीमा समयमा खरिदबिक्री आदेश राखिने सुविधा रहेको गौतमले जानकारी दिए । 

प्रकाशित सूचना तथा जानकारी जस्ताको तस्तै लगानीकर्ताहरुलाई पस्कने गरेको र हल्लाको सूचनामा कारोबार नगर्ने ब्रोकर भएको उनले दाबी समेत गरे । 

कम्पनी प्राइम लोकेसनमा रहेको र प्रोफेसनल क्लाइन्टलाई प्रोफेसनल सर्भिसको विशेष सुविधा दिइरहेको बताउने गौतमले ४ जना ट्रेडरमार्फत र आफैं पनि सोसल मिडिया र फोनबाटसमेत अर्डर लिएर लगानीकर्ता सकेसम्म छिटो र छरितो सुविधा दिइरहेको बताए ।

लगानीको औजारमध्ये इण्डेक्स फण्ड, सर्ट सेलिङ र अन्य प्रडक्टहरुको नेपाली सेयर बजारमा अभाव खट्किएको र क्लोज आउटको राफसाफका  लागि अक्सन मार्केटको आवश्यकता समेत गौतमले औंल्याए ।

बामे सरिरहेको नेपालको पूँजी बजारमा नियामकहरुको भूमिका र तदरुकता सराहनीय नै रहेको, तर मुलुकको आर्थिक स्थिति अनुसारको ऐन कानून, पूर्वाधारको व्यवस्था लगायतका धेरै कामहरु थाँती रहेको उनी बताउँछन् ।

नयाँ कम्पनीहरुको प्रादुर्भावसँगै बृहत रोजगारी सिर्जना, जीडीपीमा योगदान लगायत थुप्रै फाइदाहरु बोकेको क्षेत्र भएको उनले सुनाए ।

धेरै पहिला  १–२ पटक कारोबार आउटमा परे पनि अहिलेसम्म नियामकको कुनै कारबाहीमा नपरेको गौतमले दाबी गरे ।

पूँजीबजारमा नीतिगत स्पष्टता, सूचीकृत कम्पनीको बोर्ड र  व्यवस्थापनले गलत गरेमा कारवाही गर्नका लागि कडा कानूनी व्यवस्था नभएको र दोस्रो बजारका लगानीकर्ताप्रति सम्बद्ध निकाय जिम्मेवार नभएका उनको आरोप छ । 

रियल सेक्टर, हाइड्रो लगायतका क्षेत्रमा नियामक निकाय नहुनु दूर्भाग्यपूर्ण भइरहेकामा नियमन र सुपरिवेक्षणको व्यवस्था भएमा पूँजी बजारको थप विकास र विस्तार हुने उनले विचार राखे ।

बैदेशिक लगानी भित्र्याउने कुरा गरिरहँदा बिदेशी कम्पनीहरुले नाफा लैजाँदा अर्थतन्त्रमा भूकम्प नै आउनु मुख्य चुनौति भएको उल्लेख गर्दै गौतमले देशको सानो अर्थतन्त्रको आकारले समेत थप चुनौति भएको बताए। 

नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरण मानिसले सहजै बुझ्न सक्ने खालको हुनुपर्ने बताउँदै उनले कम्पनीका वित्तीय विवरण नेप्से आफैंले समेत सरल ढंगको बनाई राख्नुपर्ने विचार राखे । साझा प्लेटफर्मबाट सूचनामा समान पहुँच र आधिकारिकता हुनु जरुरी रहेको उनको धारणा छ ।

सूचीकृत कम्पनीका जोकोही कारणले सेयर बजारमा गलत सूचना सम्प्रेषणमा गल्ती भएमा लगानीकर्ताहरुले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै गौतमले सूचनामा सहज पहुँच समान  ढंगले भएमा पूँजी बजार गतिशील हुने जिकिर गरे । 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ४८ 
सुरेन्द्र ढुंगेल(मूलपानी) व्यापारी-४२वर्ष

विगत ३ वर्षदेखि सेयर बजारमा सक्रिय म यहाँ आएर कारोबार गर्न थालेको १ वर्षजति भयो । औसत ब्रोकर नै हुनुहुन्छ । म यहाँको सेवासुविधाबाट सन्तुष्ट नै छु । सबै ठीकै छ । मैले १० नम्बरमा ७ नम्बर दिन चाहेँ ।

यम घले(सामाखुशी) व्यापारी-५२ वर्ष
करिब १० वर्षदेखि बजारमा छिरेकोमा मैले ४८ नम्बरबाट सेवा लिएको करिब ३ वर्ष जति भयो । सामान्य नै छ, सेवासुविधाका दृष्टिकोणले । अनि भीड बढेका बेला बस्ने ठाउँको अलिक अभाव भएको महसुस गरेको छु । यहाँका कर्मचारीहरुको मित्रवत व्यवहार समग्रमा ठीकै छ । यहाँभन्दा  पनि नेप्सेको अनलाइन नेटवर्क चाहिँ राम्रो भए हुन्थ्यो । म १० नम्बरमा ७ नम्बर दिन्छु ।

रञ्जिता गौतम(भक्तपुर)गृहिणी-३७ वर्ष
तीन वर्षदेखि सेयर बजारमा छिरेकी मैले सुरुदेखिबाट नै यहाँबाट सेयर खरिदबिक्री गर्दै आइरहेकी छु । सेवासुविधा ठीकै छ । स्टाफहरु पनि राम्रै हुनुहुन्छ र टंक सरबाट समेत उचित सल्लाह पाएकी छु । समग्रमा ठीकै छ । मैले १० नम्बरमा ७ नम्बर दिएँ ।