काठमाण्डौ । अहिले कोरोनाभाइरस महामारीको केन्द्र बनेको अमेरिकाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

जोन हप्किङ्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा अमेरिकामा २ हजार मानिसको ज्यान गएको छ। योसँगै हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ। 

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या बढेर तीन लाख ९० हजारभन्दा बढी पुगेको छ। 

महामारीको सबैभन्दा बढी असर न्युयोर्क सहरमा देखिएको छ। त्यहाँमात्र १ लाख ३८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। न्युयोर्कमा अहिलेसम्म ५ हजार बढीको ज्यान गइसकेको छ। न्युयोर्कमा अहिले ठूलो संख्यामा संक्रमितहरु भएपछि अस्पतालहरुमा राख्ने ठाउँसम्मको अभाव हुन थालेको छ।  

त्यस्तै अमेरिकाकै न्युजर्सीमा १ हजार २०० बढीको ज्यान गइसकेको छ भने ४४ हजारभन्दा बढी मानिस संक्रमित छन्। 

प्राणघात यो भाइरसबाट हालसम्म विश्वमा ८० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने १४ लाख बढी संक्रमित छन्। –