काठमाण्डौ । अमेरिकी डलरको मूल्यले कीर्तिमानी उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर १३३.७४ रुपैयाँ  रहेको छ भने खरिददर १३३.१४रुपैयाँ कायम भएको छ ।

भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ । भारुको अवमूल्यन भएकै कारण नेपाली रुपैयाँमा पनि प्रभाव परेको हो । 

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा  झरेको हो ।नेपालले आफ्नो मुद्राको विनिमय दर भारुसँग स्थिर राखेको छ । भारतीय १०० रुपैयाँ बराबर नेपाली १६० रुपैयाँ रहेको छ ।

अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ताहरू डलरतर्फ आकर्षित हुन्छन्। अनि त्यसको भाउ बढ्छ।त्यसो हुँदा भारतबाट लगानीकर्ताहरूले समेत पैसा अमेरिका लैजान सक्छन्। अनि भारुको भाउ घट्छ। भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वतः घट्नु हो। 

आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।

फेडरल रिजर्भले फेरि ब्याजदर बढाइदियो भने डलरको भाउ अझ बढ्न सक्छ।किनभने त्यसपछि त्यसको असर भारतको बजारमा पर्छ र त्यहाँबाट नेपालमा पर्छ।