काठमाण्डौ । अमेरिकी डलरसँग नेपाली  मुद्रा  अहिलेसम्मकै अवमूल्यनमा परेको छ । नेपाल राष्ट्रबैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर ११० रुपैयाँ  ३८ पैसा तोकेको हो । 

यो अहिलेसम्मकै उच्च  विन्दू हो । पाँच दिनअघि बिहीबार अमेरिकी डलरको खरीददर ११० रुपैयाँ ८ पैसा रहेको थियो । १८ महिनाअघिको रेकर्डलाई तोड्दै बिहीकार अमेरिकी डलरको भाउ निकै माथि थियो । तर, त्यसलाई समेत उछिन्दै मंगलबार डलर सर्वाधिक उचाईमा पुगेको हो । 

भारतीय मुद्राको तीव्र अवमूल्यनको प्रभाव नेपाली मुद्रामा समेत देखिएको छ । नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेको छ । यसकारण डलरको उतारचढावबाट भारुमा प्रभाव पर्दा त्यसको सोझो असर नेपाली मुद्रामा पनि पर्ने गर्छ । यहीकारण लामो समयदेखि एकखालका विज्ञहरुले भारतसँगको स्थिर विनिमय दर परिवर्तन(पुनर्विचार) हुनुपर्ने माग गरिरहे पनि सरकार वा सम्बद्ध निकायले यो बिषयलाई गम्भीर रुपमा लिएका छैनन् । 

सन् २०१६ नोभेम्बर ३० मा अमेरिकी डलरको भाउ बढेर ११० पुगेको थियो ।

भारतीय संचारमाध्यमहरुले समेत भारु सन् २०१६ नोभेम्बर २९ पछिकै सबैभन्दा सस्तो भएको बताएका छन् । भारतीय आयातकर्ता तथा बैंकहरुले जुन महिनाको अन्तमा माग गरेको ठूलो परिमाणको डलरका कारण भारतीय मुद्रा यति साह्रो अवमूल्यन भएको बताइएको छ । किनभने यी क्षेत्रबाट ठूलो मात्रामा डलर भारतबाट बाहिरिएको बताइएको छ । 

भारुका कारण नेपाली मुद्रा समेत इतिहासकै कमजोर भएपछि यसले देशको अर्थतन्त्रमा थुप्रै प्रभावहरु पार्ने अर्थविदहरुले बताएका छन् । यो पटक नेपाली मुद्रा गत अप्रिलदेखि नै अवमूल्यनमा पर्दै आएको थियो ।

अर्थविदहरुको भनाईमा भुक्तानी सन्तुलनलाई नियन्त्रणमा राख्न नसकेको नेपालजस्तो देशका लागि डलरको भाउ बढ्नु दुःखद पक्ष हो, कारण यसले आयातलाई महङ्गो बनाई देशकै अर्थतन्त्रलाई डामाडोल बनाइदिनसक्छ । 

तर, नेपाली मुद्राको अवमूल्यको सकारात्मक पाटाहरु पनि हुन्छन् । विज्ञहरुकाअनुसार रेमिटान्समा आधारित अर्थतन्त्रमा भित्रने रेमिटान्स डलर मजबुत हुँदा बढ्छ । यस्तै, निर्यातबाट प्राप्त आम्दानी समेत बढ्छ । 

यसैगरी, अमेरिकी डलरको उच्च क्रय क्षमताले नेपालजस्तो देशमा पर्यटकहरुको आगमन बढाउन समेत मद्धत पुग्नसक्छ । डलरको मजबुतीले भन्सार आय समेत बढ्नसक्छ । 

तर, डलरको मजबुतीबाट नेपालजस्तो देशलाई घाटा पनि कम हुँदैन । आयातमा आधारित अर्थतन्त्रमा आयातको खर्च बढ्दा अवस्था नाजुक हुनसक्छ । भुक्तानी सन्तुलनमा दवाब पर्नेछ भने वैदेशिक ऋण तिर्दा देशले बढी पैसाको जोहो गर्नुपर्नेछ । अमेरिकी डलरमा कतिपय जलविद्युत कम्पनीसँग सम्झौता हुने भएकोले डलरको भाउ बढ्दा यसले भविष्यमा नेपाल विद्युत प्राधिकरणको घाटा बढाइदिनसक्छ । यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको हवाई भाडादर समेत महङ्गो पर्नसक्छ । यसले विदेश पढ्न, बिजिनेश गर्न, घुम्न वा काम गर्न विदेश जानेहरुको बजेट समेत बढाइदिन्छ । डलरको भाउ बढ्दा अमेरिकी डलरको कालोबजारी समेत बढ्ने डर हुन्छ ।