-रोलेण्ड ह्यूज, बीबीसी
अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रचार अन्तिम चरणमा प्रवेश गरेसँगै कयौं विषयहरु इतिहास बन्नसक्ने संभावना बढ्दै गएको छ । करिब एक डेढ वर्षअघिसम्म कसैलाई थाहा थिएन कि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वार बन्लान् भन्ने कुरा । तर, फिलाडेल्फियामा भएको डेमोक्रेट्सहरुको सम्मेलनपछि हिलारी क्लिन्टन सो पार्टीको उम्मेद्वार बन्दैछिन् भन्ने कुरा प्रष्ट भइसकेको थियो । अब सबैजना निर्वाचनको दिन र त्यसको परिणामको व्यग्र प्रतिक्षा गरिरहेका छन् । यही क्रममा हामीले ६ विषयहरु(जो निर्वाचनपछि इतिहास बन्न सक्छन्)को बिषय बताउन गइरहेका छौं । 

१. पाको उमेर
सन् २००९ जनवरीमा जब बाराक ओबामा ह्वाइटहाउस प्रवेश गरेका थिए, त्यसबेला उनको उमेर मात्र ४७ वर्ष थियो । अमेरिकी इतिहासमा उनी पाँचौ सबैभन्दा युवा राष्ट्रपति हुन् । थियोडोर रुजवेल्ट सबैभन्दा युवा राष्ट्रपति थिए । पद सम्हाल्ने समयमा उनको उमेर मात्र ४२ वर्ष ३२२ दिन थियो । 

गत जुन १४ मा डोनाल्ड ट्रम्पले आफ्नो ७० औं जन्मदिन मनाए । यदि ट्रम्पले जिते भने उनी सबैभन्दा पाका उमेरका राष्ट्रपति हुनेछन् । रोनाल्ड रिगन राष्ट्रपति बन्दा ६९ वर्षका थिए । हिलारी क्लिन्टनको उमेर पनि ६९ वर्ष हो । हिलारीले जितिन् भने पनि उनी सबैभन्दा पाको उमेरको राष्ट्रपतिको सूचिमा दोश्रो नम्बरमा पर्नेछिन् ।

२. न्यूयोर्क


अहिलेको  चुनावी प्रतिस्पर्धा सन् १९४४ पछि न्यूयोर्कका दुई हस्तीबीचको पहिलो प्रतिस्पर्धा हो । यसअघि न्यूयोर्कका गभर्नर थोमस ई डेवेले फ्रैंकलिन डी रुजवेल्टविरुद्ध चुनाव लडेका थिए । यो पटक बाजी जसको पक्षमा गए पनि , ७१ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति न्यूयोर्क सहरबाट बन्न गइरहेको छ । हिलारी क्लिन्टन सिकागोमा जन्मिएकी थिइन्, तर उनी न्यूयोर्कबाटै सिनेटर बनेकी थिइन् ।

३.पैसा
यदि ट्रम्पले चुनाव जिते भने उनी सबैभन्दा कम पैसामा प्रचार अभियान चलाउने विजेता उम्मेद्वार बन्नेछन् । यसअघि अल गोरले सन् २००० मा निकै कम रकम खर्च गरेका थिए । हिलारी खर्चको मामलामा ट्रम्प भन्दा कयौं गुणा अगाडि छिन् ।

४.अनुभव
ट्रम्पले जिते भने अर्को एउटा कारणले समेत थप महत्वपूर्ण हुनेछ । पछिल्लो ६० वर्षको दौरानमा अमेरिकामा कुनै पनि यस्तो राष्ट्रपति आएका छैनन्, जो कंग्रेस सदस्य वा कुनै राज्यको गभर्नर बनेका नहुन् । गैरसियासी पृष्ठभूमिबाट आउने पूर्व अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहोवर दोश्रो विश्वयुद्धको समयमा गठबन्धन सेनाका सुप्रिम कमाण्डर थिए । 

आइजनहोवर १९५३ मा अमेरिकी राष्ट्रपति बनेका थिए । १९२९ देखि १९३३ सम्म राष्ट्रपति रहेका हरबर्ट हुवर पेशाले इञ्जिनियर र मानवतावादी थिए । विगतमा जूवाघर तथा होटल चलाउने कुनै पनि व्यक्ति कहिल्यै पनि राष्ट्रपति पदको उम्मेद्वार बनेको थिएन । तर ट्रम्पले दाबीका साथ भनेका छन् कि उनीसँग सौदा गर्ने अनुभव छ र उनी वासिङ्टनको सत्ता प्रतिष्ठानसँग बाँधिएका छैनन् । यो कुरा उनको पक्षमा जान्छ । 

५. पहिलो महिला राष्ट्रपति
हिलारी क्लिन्टन मैदानमा उत्रिएसँगै दुई कुरा तय भइसकेको थियो । एक, उनी पहिलो महिला राष्ट्रपति बन्न सक्छिन् भने दोश्रो : कुनै प्रमुख पार्टीले पहिलो पटक कुनै महिलालाई राष्ट्रपति पदको उम्मेद्वार बनायो । यसअघि रिपब्लिकन उम्मेद्वार जोन मकेनले सबैलाई आश्चर्यमा पार्दै अलास्काकी गभर्नर सारा पालिनलाई सन् २००८ मा उपराष्ट्रपति पदको उम्मेद्वार बनाएका थिए । १९८४ मा डेमोक्रेटिक नेता वाल्टर  मोण्डालेले अर्की  महिला गेराइल्डाइन फेरारोलाई उपराष्ट्रपति पदको उम्मेद्वार बनाइसकेका थिए । तर, दुर्भाग्य यी दुवैमध्ये कसैले पनि चुनाव भने जितेनन् ।

६.डेमोक्रेटिकको लगातार दोश्रो जित
विगतमा निकै आश्चर्यजनक ढंगले दुईपटक डेमोक्रेटिक नेताका उत्तराधिकारी पनि त्यही पार्टीबाट आएका छन् । ह्यारी ड्रूमेन र लिण्डन जोन्सन दुवै उपराष्ट्रपति थिए र राष्ट्रपतिको मृत्युपछि दुवैलाई राष्ट्रपति पदका लागि मनोनीत गरिएको थियो । उनीहरु दुवैले राष्ट्रपतिको पदको अघिल्लो चुनाव समेत जितेका थिए । क्लिन्टनको जित यो कोणबाट समेत डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण हुनसक्छ ।