काठमाण्डौ । के तपाइँ सेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ ? के तपाइँले आफैँले कमाएको पैसालाई लगानीमार्फत डबल बनाउन चाहनुहुन्छ ? 
त्यसो हो भने सेयर बजार उपयुक्त माध्यम हुन सक्छ। आवश्यक अध्ययन र सुझबुझका साथै सेयर बजारमा लगानी गर्ने हो भने तपाइँको लगानी पक्कै पनि डबल बन्न सक्छ। 

अहिले अमेरिकाको सेयर बजारमा यस्तै चर्चा गरिरहेको छ। त्यहाँका बजार पण्डितहरुले अमेरिकाको सेयर बजार एस एन्ड पी ५०० सन् २०३० सम्ममा डबल हुने प्रक्षेपण गरेका छन्। एक रणनीतिक लगानी व्यवस्थापक कम्पनी ‘बर्नस्टाइन’ का अनुसार एस एन्ड पी ५०० आगामी साढे ८ वर्षमा डबल हुनेछ। 

यो कम्पनीले सन् २०१९ मै एस एन्ड पी ५०० ले ४००० को विन्दु चुम्ने प्रक्षेपण गरेको थियो। गत शुक्रबार यो इन्डेक्स ३९७४.५४ को विन्दु छोएको छ।  

बर्नस्टाइन कम्पनीका अनुसार यसरी इन्डेक्स डबल हुनुको मुख्य कारण भने कोरोना महामारी नै हो। 

बर्नस्टाइन लगानी व्यवस्थापनसम्बन्धी रणनीति बनाउने र विश्लेषण गर्ने दिग्गज व्यक्तिहरुको कम्पनी हो। यो कम्पनीमा आबद्ध दिग्गजहरुले यसरी बजार बढ्नुमा कोरोना महामारी र राजनीतिलाई कारण बनाएका छन्। कोरोना महामारीकै अमेरिकी सरकारले लिने नीति तथा नियमका कारण आगामी दिनमा सेयर बजारमा थप उछाल आउने बर्नस्टाइनको प्रक्षेपण छ।

नेपालको सेयर बजार पनि कोरोना महामारी बढेसँगै छोटो अवधिमै डबलभन्दा बढीले बढिसकेको छ। एक वर्षअघि ११०० को विन्दुमा रहेको परिसूचक अहिले बढेर २६०० विन्दु माथि पुगेको छ। 

अहिले लगानी अन्य क्षेत्रभन्दा सेयर बजारबाटै सहज र छोटो समयमै राम्रो प्रतिफल पाउने भएपछि लगानीकर्ताहरु ओइरिएका छन्। 

बजार विश्लेषकहरुले पनि नेपालको सेयर बजारले अब केही समयभित्रै नयाँ उचाइ लिने बताइरहेका छन्। बजार जानकार मेघनाथ निरौलाले नेप्से परिसूचकले आगामी २ वर्षभित्रै ६००० को विन्दु चुम्ने दाबी गरे। ‘प्रविधिसँगै बजारको विकास र विस्तार निरन्तर भइरहेको छ, लाखौँ मानिस अहिले सेयर बजारप्रति आकर्षित भइरहेका छन्’, उनले भने, ‘अब बजार एक स्टेप पछाडि र दुई स्टेप अगाडि फड्को मार्दै बढ्छ।’

अर्का लगानीकर्ता प्रकाश न्यौपानेले बजार अब पछाडिभन्दा पनि अगाडि नै जाने निष्कर्षमा पुगेका छन्। ‘बजारको आकार बढ्दै गएकोले अब तल झर्ने सम्भावना कमै छ’, उनले भने। – एजेन्सीको सहयोगमा