काठमाण्डौ । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अल्पकालका लागि सर्वसाधारण लगानीकर्ताका लागि अप्रिय रहे पनि भविष्यमा अवश्य फलदायी रहने बताएका छन्।

नेपाल राष्ट्र बैंकले हिजो एकीकृत निर्देशन संशोधन गरी केही नयाँ सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न रोक लगाएको छ। यो व्यवस्थाका कारण बजारमा पर्ने प्रभावको विषयमा सर्वत्र आँकलन भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्र बैंकको पछिल्लो कदमका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल टेलिकमका सञ्चालकसमेत रहेका पौडेलले भनेका छन्, ‘लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले गर्दै आएको यो काम सम्बन्धित सरोकारवालासँग छलफल गरी गरेको भए र अहिले गरिरहेको लगानीलाई कम्तीमा उनीहरूकै विवेकमा बिक्री गर्ने मौका दिएको भए अझै राम्रो हुने थियो।’ 

पौडेलका विचारमा परिपत्र आउनुका कारण

  • केही बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समयमा सक्रिय रूपमा सेयर ट्रेडिङमा संलग्न भई दिनदिनै उलेख्य कारोबार गरेको र नाफासमेत कमाएका छन्। जुन कुरा तेस्रो त्रैमासिक वित्तीय विवरणमा समेत देखिएको छ।
  • कारोबार रकममा भएको वृद्धिलाई धेरै हदमा तिनै संस्थाको कारोबार रकमले सहयोग गरेको भन्ने राष्ट्र बैंकको बुझाइ छ।
  • पछिल्लो समयमा सेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाहरुको संख्या थपिँदै जानु (देखासिकी गर्न र मपछि परिहालेकी भन्ने सोच यहाँ पनि मौलाएको) जसका कारण कतै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो कोर अब्जेक्टिभ्सबाटै विचलित हुने त होइनन् भनी नेपाल राष्ट्र बैंक गम्भीर भएको हुन सक्छ। 
  • वैंक तथा वित्तीय संस्थाहरुले खोलेका मर्चेन्ट बैंक र तिनीहरूले नै सञ्चालन गरेका म्युचुअल फन्डले समेत त्यही कार्य गर्न अनुमति लिएकोमा फेरि बैंक तथा वित्तीय संस्थाहरुले त्यही कार्य किन गर्नुपर्यो भन्ने विषय पटक–पटक उठान भएको थियो। 

मुख्य गरेर माथिकै परिवेशमा हिजोका निर्देशन जारी भएको देखिने पौडेलको बुझाइ छ। ‘यो राष्ट्र बैंकले आफ्नो नियमकीय भूमिकामा रहेर दिएको निर्देशन हो’, पौडेलले लेखेका छन्, ‘माथिको निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने प्रभावका विषयमा तत निकायहरुले बोल्ने नै छन्। तर पनि हिजोको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी स्थापना गर्न लगाएका लघुवित्तको लगानी र अहिले ५१/४९ गरी गरी कन्भर्सन भई सर्वसाधारण सेयरमा परिवर्तन भई लगानीका रूपमा देखिएका सेयरको बिक्रीमा प्रस्ट पार्नुपर्ने देखिन्छ। हाल बैंक तथा वित्तीय संस्थासँग रहेको सेयरको हिस्सामा त्यसरी आएको माइक्रो फाइनान्सको हिस्सा उल्लेख्य देखिन्छ।’ 

पुँजी बजारमा हिजोको नीतिको प्रभाव

संख्यात्मक रूपमा धेरै कम बैंक तथा वित्तीय संस्थाहरु सेयर खरिदबिक्रीमा संलग्न भएको र यिनीहरुको लगानी अनुमानित ७ अर्ब रहेको बुझिन्छ। जसमा करिब ३ अर्ब कन्भर्सन भएका माइक्रो फाइनान्सको सेयरको मूल्य रहेको छ भने ट्रेडेबल लगानीमात्र ४ अर्बको देखिन्छ। यो रकम भनेको विगत केही दिनदेखि कारोबार भएको रकमको एक दिनमा हुने कारोबारको १÷३ हो। सो रकमलाई माइक्रो फाइनान्सको हकमा ८ महिना र अन्यको हकमा १४ महिनासम्मको अवधि दिएको हुनाले मानसिक रुपमा लगानीकर्तालाई केही असर परे पनि कारोबारको हिसाबले तात्विक रुपमा बजारलाई प्रभाव पार्ने संख्या होइन।

बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष रुपमा कारोबारी बन्न नपाउँदा कारोबार रकममा केही दिन कमी आउन सक्ने देखिन्छ। तथापि दोस्रो बजारमा दिनानुदिन बढी रहेका लगानीकर्ताको सख्याले सो असरलाई छिटै पूरा गर्ने पौडेलको बुझाइ छ। 

हाल पुँजी बजारमा लगानी गरिरहेका बैंक तथा वित्तीय संस्थाले धेरैजसो लगानी क्रमशः १४ महिनाभित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाहरुको नाफामा उल्लेख प्रगति देखिन सक्ने पौडेलको अनुमान छ। 

आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो कोर बैंकिङ एक्टिभिटिजमा बढी फोकस भई उलेख्य वित्तीय प्रगति गरी र ग्राहकमैत्री सेवा विस्तार गर्ने पौडेल बताउँछन्। ‘बैंक तथा वित्तीय संस्थाहरुले औचित्यपूर्ण तथा बढी नाफा प्राप्त हुने लगानी लामो समयका लागि होल्ड गर्नेछन्’, उनले लेखेका छन्, ‘जसका कारण अहिलेजस्तो सप्लाई हुने छैन।’

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना सहायक कम्पनी (मर्चेन्ट बैंक, म्युचुअल फन्ड) लाई अझ बढी सशक्त बनाउने र आफ्नो लगानी ती संस्थामार्फत वृद्धि गर्ने पौडेलको भनाइ छ। ‘स्टक डिलरको संख्या आगामी दिनमा बढ्नेछन्’, उनले लेखेका छन्। 

पटकपटक माइक्रोफाइनान्स र इन्स्योरेन्सको मूल्य बैंक तथा वित्तीय संस्थाहरुले खरिद गरेकोले बढेको अर्थात आकाश छुवाएको भन्ने आरोपबाट मुक्त हुने पनि पौडेलको विश्वास छ।