काठमाण्डौ । भेट्रान लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट कार्यसमितिका सदस्य अम्बिकाप्रसाद पौडेलले पुँजीबजारका विषयमा सरकार र नियामक निकायमा आसीन व्यक्तिहरुले बुझ्न नसकेको बताएका छन्। 

आज राजधानीमा आयोजित सेयर लगानीकर्ताहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो आरोप लगाएका हुन्। ‘नीति निर्माणमा संलग्न सरकार र नियामक निकायका व्यक्तिहरुलाई हामीले पो बुझाउन नसकेका हौँ कि ?’, प्रश्न गर्दै उनले भने, ‘त्यसैले अब उनीहरुलाई पुँजीबजारबारे बुझाउन हामीमध्येबाटै वर्षौंदेखि यो क्षेत्रमा सक्रिय र देशविदेश घुमेर सेयर बजारबारे बुझेकाहरुले बुझाउन आवश्यक देखिन्छ।’

त्यसैले पुँजीबजार जानकार र मिडियाले नीति निर्माणमा संलग्नहरुलाई पुँजीबजारबारे बुझाउने अभियान नै चलाउन आवश्यक रहेको पनि पौडेलले बताए। 

पुँजी बजारले गर्दा अन्य क्षेत्र धरासायी बनेको भन्ने बुझाइ गलत रहेको पनि पौडेलले स्पष्ट पारे। ‘अहिले बैंकिङबाट प्रवाह हुने सेयर धितो कर्जाको हिस्सा २.५ प्रतिशतमात्र रहेको छ, यसले कसरी तरलता अभाव भयो भन्न मिल्छ’, उनले भने, ‘राष्ट्र बैंक र सरकारले यसबारे बुझ्नपर्यो, हामी यस विषयमा बहस गर्न पनि तयार छौँ।’

पुँजी बजार संवेदनशी क्षेत्र भएकोले नीति निर्माण गर्दा सचेत हुनुपर्ने पौडेलको भनाइ छ। ‘विलासिताका वस्तु आयातमा कति लोन गइरहेको छ, राष्ट्र बैंकले ध्यान दिन जरुरी छ’, उनले भने। 

पुँजीबजारप्रतिशत एकपछि अर्को प्रहार गर्ने काम भइरहेकोमा पौडेलले आक्रोश पोखे। ‘बजारलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ, नियामकले एकपछि अर्को बजार प्रतिकूल नीतिले आमलगानीकर्ता सम्पत्ति असुरक्षित बनेको छ’, उनले भने, ‘बजारलाई प्रभावित पार्ने नीतिहरुविरुद्ध हामी लड्नुपर्छ।’

‘बजार बढ्दा सरकार र नियामकको टाउको किन दुःख्छ’, प्रश्न गर्दै पौडेले भने, ‘सेयर बजारबाट कमाएकाहरुले कर तिरेका छन् कि छैनन्, त्यतातिर ध्यान दिनुपर्यो। फलानो यति कमायो, उति कमायो भनेर किन टाउको दुखाउनुपर्यो।’

पौडेले अहिले बजार सुधार र विस्तारका लागि आमलगानीकर्ताको केही सीमित माग पूरा गर्न पनि सरकार र नियामक तयार नभएको बताए। ‘ब्रोकरबाट मार्जिन लेन्डिङको सुविधाको कार्यान्वयन, सेबोन र नेप्सेमा नेतृत्वको नियुक्ति र यसअघिका ५८ बुँदे मागमध्ये पूरा नभएका माग पूरा गरिदिनमात्रै लगानीकर्ताले भनेका छन्’, उनले भने, ‘तर, यी माग पूरा गर्न केमा समस्या छ ?’