काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुको सम्पत्ति हडपेर छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढेको बताएका छन्।
पार्टी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा सेयर बजारप्रति यस्तो धारणा उल्लेख राखेका हुन्। ‘वित्त क्षेत्रमा पुँजीको पलायन हुनुको मुख्य कारण पुँजीपतिको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो’ प्रतिवेदनमा उल्लेख छ।
उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मेहनत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाहिँ कम आउने कारणले नै पुँजीपतिहरुले अरुको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका प्रतिवेदनमा उल्लेख छ। ‘उत्पादनमूलक क्षेत्रमा लगानी भए रोजगारीका अवसहरु सिर्जना हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘तर नाफा कम आउने भएकाले उत्पादन क्षेत्रमा लगानी गर्न रुचि देखिएन।’
यसबाट केही सीमित पुँजीपति वर्गले लाभ लिइरहेको प्रतिवेदनमा ठहर गरिएको छ। ‘पुँजीपति घरानाहरुले बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्’, प्रतिवेदनमा भनिएको छ।
मुठ्ठीभर पुँजीपति घरानाहरुको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ।
उत्पादनको क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा–माल–मुद्राको स्थान अब मुद्रा लगानी गरेर सीधै मुद्रा कमाउने प्रक्रिया लिएको प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भइरहेको छ’, प्रतिवेदनमा भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19