काठमाण्डौ ।  नेप्से परिसूचक हालसम्मकै अलटाइम आई (१८८१ ) विन्दू नजिक पुग्नै लाग्दा नेप्सेमा सूचीकृत १२ वटा सेक्टरमध्ये अधिकांश सेक्टरमा उछाल आएको छ, तर बैंकिङ सेक्टर भने जाग्न सकेको छैन ।

सेयर बजारमा कम जोखिम भएको र लाभांशले समेत कर्जाको ब्याजदरलाई व्यवस्थापन गर्न सकिने आधार प्रस्तुत गरेका बैंकहरुमा भाइब्रेसन आइरहेको छैन। बजारवृत्तमा बैंकिङ समूह चले मात्र इण्डेक्स र कारोबार रकम पनि अनपेक्षित हुने प्रक्षेपण छ ।

नेपालको सेयर बजारमा बैंकिङ सेक्टरको हिस्सा ६५ प्रतिशतभन्दा बढी रहेको बताइरहँदा बैंक समूह नचल्दा अहिलेको बजारको उछाल दिगो नहुने हो कि भन्ने चिन्ता पनि देखिन थालेको छ । आपूर्ति अत्यन्त न्यून भएका कम्पनीका सेयरहरुमा कर्नरिंग गरेर निश्चित समूहले बजार बढाइरहेको आशंका समेत बैंकिंग समूह नचल्दा बढिरहेको छ।

यसअघिको बुलमा बैंकले नेतृत्व गरेकोमा आजका दिनसम्म पनि बैंकले उठ्ने हिम्मत गरेन । आखिर के कारणले बैंकिङ समूह यसरी सुस्ताएको होला त ?

बजार बुल रनमा कुदिरहेकाले बैंकको पालो आउने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । आज पनि धेरै बैंकका पीई रेसियो निकै कम छन् र किन्नुपर्ने बेला पनि हो । रौनियार भन्छन्, अरुले त्यति चासो देखाएको भेट्दिँन । 

जोखिम कम भएकाले अहिले पनि बैंकका सेयर किन्ने जमात बाक्लै भएको उनको दाबी छ । बजार समग्र बढ्नलाई समेत बैंक बढ्नैपर्ने उनको भनाइ छ ।

बैंकहरुले एनएफआरएसको सिद्धान्तअनुसार नगदमा आधारित वित्तीय विवरण पेश गर्ने चलन र कोभिडको असर बैंकमा परेको कारण बैंकिङ समूह नचलेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको ठम्याइँ छ । बजारमा मागभन्दा आपूर्ति बढी भई खपत कम भइरहेको र २ ५ रुपैयाँ बढ्नेबित्तिकै बिक्री चाप आउँदा बैंकिङ समूह जुर्मुराउन नसकेको अर्याल दाबी गर्छन् ।

बैंकले गरेको लगानीमा कोरोना असर परेको र ब्याज आम्दानी नै प्रभावित भएपछि बैंकको नाफा नराम्रोसँग प्रभावित भएकाले बैंकिङ समूह सुषुप्त अवस्थामा रहेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

बजार माग र आपूर्तिमा आधारित भएर चल्ने भन्दै बैंकका सेयर खपत गर्नेको संख्या कम भएकाले बैंकिङ समूह स्थिरप्रायः रहेको सक्रिय लगानीकर्ता हरेराम घिमिरे जिकिर गर्छन् । बजारको आकार निकै ठूलो भएकाले संस्थागत लगानीकर्ताहरुको आवश्यकता रहेकोमा उनले जोड दिए ।

बजार उकालो गतिमा दौडिरहेको यसबेलामा बैंकिङ समूह चाहिँ सुनसान हुनुमा निष्क्रिय कर्जा र सेयरको आपूर्ति नै मुख्य कारण रहेको बजार जानकारहरु बताउँछन् । हिजोआज अल्पकालीन कारोबारीहरु सक्रिय हुनु र माहौल नै कम आपूर्ति भएका सेयरमा आकर्षित हुँदा बैंकिङ समूह सुनसान भएको जानकारहरु जिकिर गर्छन् ।

आधारभूत रुपमा बैंक सुरक्षित भएतापनि बजारको पछिल्लो ट्रेण्डमा ट्रेडर(कारोबारी) हावी भएकाले पनि बैंक समूहमा उछाल नआएको जानकार सुनाउँछन् । 

दशैंअघि नै लाभांश घोषाणा गर्ने नबिल बैंकले यसपालि यो बेलासम्म पनि लाभांश प्रस्ताव नगर्दा त्यसको असर पूरा बैंकप्रति पर्नसक्ने अवस्था देखिएको र एकाएक आकर्षण समेत घट्न थालेको विश्लेषक दाबी गर्छन् । 

बैंकका सेयरमा इन्साइडर ट्रेडिङ हुने र संस्थागत सुशासनमा समेत प्रश्न उठेकाले सेयर बजारमा बैंक समूह किनारा लागेको विश्लेषकहरुको भनाइ छ । छोटो समयमा तीव्र उत्तारचढाव हुने कम्पनीबाट राम्रो कमाइ हुने भएकाले पनि बैंकप्रतिको आकर्षण कमजोर बन्दै गइरहेको उनीहरु दाबी गर्छन् ।