काठमाण्डौ । वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षणको देश दक्षिण कोरियाले आगामी वर्ष १० हजार २ सय नेपाली कामदार लैजाने भएको छ । 

सन् २०१७ का लागि ३ हजार ५ सय कामदार भाषा परीक्षामा उत्तीर्ण भएकामा ३ हजार १ सय जना मात्र कोरिया जान पाउनेछन् । सन् २०१८ का लागि भने दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली(इपीएस)मार्फत १० हजार २ सय कामदार लैजाने भएको हो । 

भाषा परीक्षामा उत्तीर्ण भएर पनि कोटामा पर्न नसकी कोरिया जान नपाएकाहरुले सन् २०१८ मा अवसर पाउने संभावना बढेको छ । 

कोरियाको मानव संसाधन विभागले वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखालाई सन् २०१८ का लागि साबिकको कोटा बढाएर १० हजार २ सय  पुर्याइएको औपचारिक जानकारी दिएको शाखा निर्देशक बाबुराम खतिवडाले बताएका छन् । उनका अनुसार कोरिया सरकारले कोटामा ह्वात्तै वृद्धि गरेपछि आगामी वर्ष कोरिया जान चाहने धेरैको सपना पूरा हुनेछ । उनका अनुसार कोरियन भाषा परीक्षा पास गरेकामध्ये ६ हजार २ सय जनालाई कृषि क्षेत्र र ४ हजार जनालाई उत्पादनमूलक क्षेत्रबाट माग भएको छ । 

नेपाल सरकारको निरन्तरको प्रयासपछि कोरियामा कामदार पठाउने कोटा बढाउने सफलता प्राप्त भएको खतिवडाको भनाई छ । उनले बिजशालासँग भने–‘सन् २०१९ सम्म यो कोटा अझ बढाउने प्रयास हुनेछ ।’ 

यसैबीच, खतिवडाका अनुसार आगामी दिनमा भाषा परीक्षाका लागि घण्टौ लाइनमा बसेर आवेदन भर्ने झञ्झट समेत हट्नेछ । कारण, सन् २०१८ को कोटा अन्तर्गत दक्षिण कोरिया जान चाहनेले कोरियन भाषा परीक्षाका लागि अनलाइनबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । गत वर्ष नै यो प्रणाली विकास गरिए पनि केही ढिलो भएका कारण ६० हजार युवाले घण्टौ लाइनमा बसेर आवेदन भर्नुपरेको थियो ।  

खतिवडाका अनुसार आगामी चैत ९ गतेदेखि १८ गतेभित्र इच्छुकले अनलाइनबाट भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । भाषा परीक्षा भने आगामी जेठको अन्तिम साता गर्ने योजना छ । लाइनमा बसेर फारम भर्न नपर्ने भएपछि धेरै नेपाली युवायुवतीले ठूलो राहात महसुुस गर्ने खतिवडाको भनाई छ । 

कसरी भर्ने आवेदन ?
सुरुमा तोकिएको आवेदन शुल्क सम्बन्धित बैंकमा बुुझाएर मात्र अनलाइन फारम भर्न सकिनेछ । बैंकबाट रकम जम्मा भएको कोड राखेपछि मात्रै आफूले भरेको फारम अनलाइनबाट दर्ता हुने व्यवस्था मिलाइएको छ । अनलाइन फारम भर्दा पेश गर्ने पासपोर्ट अनिवार्य रुपमा मेसिन रिडेवल हुनुपर्नेछ । इन्टरनेटको पहुँच नभएका युवाले नजिकको साइबर क्याफेमा गएर समेत भर्न सक्नेछन् । यो व्यवस्थाले साइबर क्याफेहरुको व्यापार भने वृद्धि हुने देखिएको छ ।