काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर आगामी सातादेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ।

दोस्रो बजारमा कारोबारमा आउनका लागि निर्जीवन बीमा कम्पनी अजोडकाले हालै जारी गरेको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्ने प्रक्रियामा रहेको छ। कम्पनीको सेयर आगामी साताको आइतबार वा सोमबार नेप्सेसँग सूचीकरणका लागि सम्झौता गर्ने तयारी भइरहेको कम्पनीका सीईओ कुमारबहादुर खत्रीले जानकारी दिए। 

आगामी साताको सोमबारसम्म अजोडको आईपीओ नेप्सेमा सूचीकृत भएमा मंगलबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ। 

यो कम्पनीले गत असार २५ गतेदेखि असार २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। 

कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता आईपीओमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी रहने २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाइएको थियो।