परिवर्तन र जनचाहनालाई केन्द्रमा राखेर निश्चित समयको लागि स्रोत–साधनको व्यवस्थापन क्षमता, समस्या र विगतको कार्यान्वयनको अनुभव तथा प्राथमिकताको आधारमा बजेट तर्जुमा गरिन्छ । डेभिड बेक्म्यानले भनेजस्तै, सार्थक बजेटको मानवीय र नैतिक आयाम हुनुपर्छ, त्यस्तो सार्थकता कि कम से कम सबैलाई खाना जुटाउने अवसर देओस् । यो आर्थिक वर्षको बृद्धि १४ वर्ष यताकै सबभन्दा कम, ०.७७ प्रतिशत रहेको अनुमान छ । चालु आ.व. को हालसम्म ८१ प्रतिशत बजेट खर्च हुन सकेन । केवल १९ प्रतिशत खर्च भएको छ । आगामी दुईमहिनाभित्र कसरी खर्च हुनसक्छ ?
नेपालको मूल समस्या गरिबी र असमानता हो । ४० प्रतिशत जनसंख्याले कुल राष्ट्रिय आयको ११ प्रतिशत मात्र प्राप्त गर्दछन् । यो परम्परागत आय वितरण प्रणालीमा आमूल परिवर्तन नभएसम्म सामाजिक न्याय र सुरक्षा, समावेशी विकास सम्भव छैन । समाज वञ्चितीकरणबाट मुक्त हुन सक्दैन । नेपालको गरिबी न्यूनीकरणमा विप्रेषणको विशेष भूमिका छ । यसबारे सरकारको भूमिका के हो ? कि रगत–पसिना बगाएर पठाएको विप्रेषणमा रमाएर उपलब्धिको रुपमा देखाउनु नै सरकारको काम हो ?
भूकम्प पुनर्निर्माण प्राधिकरण प्रक्रियामुखी काम र आफ्नै धन्धामा अल्झिरहेको छ, परिणाममुखी काम छोएकै छैन । कार्यविधि मात्र देखाउने काम भइरहेको छ । एकवर्ष बितिसक्दा पीडितले अस्थायी घर बनाउन १५ हजार र न्याना कपडा किन्न १० हजारमात्र प्राप्त गरे । अझ कतिले त्यो पनि पाएका छैनन् । गत वर्षा, जाडो, हुरीबतास, महामारी भोगेका पीडितका लागि अब फेरि वर्षातको कष्टकर क्षण आउँदैछ । नवजात शिशु, सुत्केरी महिला र बृद्धबृद्धाहरूको हालत झन् हृदयविदारक छ । सरकार भूकम्पपीडित एवं सेवाग्राही जनतालाई आश्वासनमात्र बाँडिरहेको छ । उखान र मुहाबरा मिसाएर दिइएका मिठा आश्वासनले पीडितको भोको पेट अघाँउँदैन, नाङ्गो आङ् ढाकिँदैन । रू. ४ खर्ब १० अर्ब विदेशी सहायता घोषणा भएकोमा जम्मा १ खर्ब २५ अर्ब सम्झौता हुनसक्यो । ६५ अर्ब दाताहरूले दिइसकेका छन् । तर जनतामा ३० करोड पनि पुगेको छैन । ८ लाख घरहरू पूर्ण क्षति भएका छन् । ९ हजार मानिसको मृत्यु भयो । तर सरकारको संवेदनशीलता कतै देखिँदैन । भूकम्प पुनर्निर्माण प्राधिकरण प्रभावित जनताको हुनुपथ्र्यो, तर सरकार त्यसलाई आफ्नो बनाउने चेष्टारत छ ।
कृषिको व्यावसायीकरण र विविधिकरण
कृषि, पर्यटन र जलस्रोत नै हाम्रो अर्थतन्त्रका आत्मा हुन् । ७० प्रतिशत कृषकको रोजगारको मुहान मुलुकको आयको एक–तिहाइ योगदान गर्ने कृषि क्षेत्र न मल न जल न बल, टुहुरो भएको छ । कृषिको व्यवसायिक विविधिकरण र वैज्ञानिकीकरण गर्ने कुरामा सरकार चुकेको छ । गरिबी र भूखमरी सुरसाले मुख बाएजस्तै झन् बढ्दै गएको छ । कृषि क्षेत्र न घरको न घाटको भएको छ । ‘मनसुनी खेती र भनसुनी राजनीति’ झन् चरितार्थ भएको छ । गाउँ किसान र गरिबमुखी बजेटको प्राथमिकता आवश्यक छ, ताकि कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई निर्वाहमुखी कृषिको अवस्थाबाट उठाएर औद्योगिकीकरणतर्फ लैजान सकियोस् ।
दण्डहीनता र भ्रष्टाचारको अन्त र सुशासन, पार्टी विशेषको नारा होइन, राष्ट्रको आवश्यकता हो । महँगी, मूल्यबृद्धि २०–२५ प्रतिशत बढेर गएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको परिसूचकहरू अनुसार भ्रष्टाचार गतवर्ष भन्दा बढेर गएको छ । मुलुक तस्करहरूको स्वर्ग हुँदै गएको र गरिबी झन् सघन हुँदै गएको सर्वत्र अनुभूति भइरहेको छ । तस्कर र कालोबजारियाहरूबाट समानान्तर अर्थतन्त्र, जसलाई ‘कालो अर्थतन्त्र’ भनिन्छ, चलिरहेको छ । सरकार कालोबजारिया र तस्करसमक्ष किन निरीह देखिँदैछ, किन ? आफ्नै संलग्नताका कारणले हो भन्ने देखिन्छ ।
संघीयताप्रति सरकारी उदासिनता
संविधान कार्यान्वयनमा कुनै प्रगति भएको छैन । राज्यसंरचनाका पक्षमा सरकारले कुनै ध्यान दिएन । तराई–मधेश, थरुहट÷थरुवानका समस्या समाधानमा कुनै प्रयत्न भएन । सरकार यो संविधानको संवाहक र पालनकर्ता नभएर यसको दायित्वविहीन उपभोक्ता मात्र भइरहेको छ ।
विकासका पूर्वशर्तहरू
दृढ अठोट, इच्छाशक्ति र लगानीमैत्री वातावरण हो, भाषण र नारा होइन । त्यसका लागि : क) राजनीतिक स्थिरता, ख) इन्धन र ऊर्जाको पर्याप्तता, ग) दण्डहिनता, भ्रष्टाचारको निर्ममतापूर्वक दमन र सुशासनको प्रत्याभूति, घ) बन्द, हडताल पूरै बन्द गर्नुपर्ने, ङ) पूर्वाधारको विकास, च) दक्ष, अनुशासित मानव संशाधन, छ) अराजक बजार नियन्त्रण, र, ज) ब्यापार घाटा दैनिक १६० करोड र वार्षिक ७ खर्बभन्दा माथि विद्यमान रहेको अवस्थालाई हटाउने रणनीति अनिवार्य रुपले आवश्यक हुन्छ ।
केसीका देश बनाउने सूत्र
►रगत–पसिना बगाएर पठाएको विप्रेषणमा रमाएर उपलब्धिको रुपमा देखाउनु नै सरकारको काम हो ?
►उखान र मुहाबरा मिसाएर दिइएका मिठा आश्वासनले भूकम्पपीडितको भोको पेट अघाँउँदैन, नाङ्गो आङ् ढाकिँदैन ।
►कृषि क्षेत्र न मल न जल न बल, टुहुरो भएको छ । ‘मनसुनी खेती र भनसुनी राजनीति’ झन् चरितार्थ भएको छ ।
►तस्कर र कालोबजारियाहरूबाट समानान्तर अर्थतन्त्र चलिरहेको छ । सरकार कालोबजारिया र तस्करसमक्ष किन निरीह देखिँदैछ, किन ?
►तराईका ८ जिल्लामा विशेष आर्थिक कार्यक्रमको घोषणा गर्ने सरकारले हुलाकी राजमार्ग निर्माणको कामप्रति किन उदासिनता देखाइरहेको छ ?
►एक वर्षभित्रमा लोडसेडिङ् हटाउने, २ वर्षभित्रमा विद्युत बेच्ने घोषणाको कार्यान्वयन कहाँ पुग्यो ?सरकारका अभिव्यक्तिहरू गँजडीका गफजस्तो भइरहेका छन् ।
►बृद्ध, असहाय, विधवा भत्ता कम्तीमा रू. २००० हजार हुनुपर्छ । हरेक विकासक्षेत्रमा कम्तीमा एउटा उपचार सुविधासहितको ज्येष्ठ नागरिक केन्द्र(जेरियाट्रिक सेन्टर) स्थापना गरिनुपर्छ ।
युवा शक्ति परिचालन
प्रत्येक वर्ष श्रमबजारमा थपिन आउने ५ लाखभन्दा बढी श्रमशक्तिलाई प्राविधिक ज्ञान, उत्पादनमुखी शक्ति, अनौपचारिक शैक्षिक अभियानका अभियन्ता, परिवर्तन र चुनौतीको सामना शक्तिको रुपमा विकसित गर्नुपर्छ । रोजगारीको कारणले विवशताका साथ विदेशिएका युवाशक्तिलाई स्वदेशमै रहने वातावरण आवश्यक छ । ‘रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्ति अभियान’ का १२ जना स्नातकोत्तर उत्तीर्ण युवा ६ वटा माग राखी ११ दिनदेखि राजधानीको खुलामञ्चमा आमरण अनशनरत छन् । उनीहरूका जायज मागहरूमा मेरो सहानुभूति र समर्थन छ । किनकि उनीहरूले संविधानले दिएको मौलिक हक, रोजगारीको हकअन्तर्गत नै संविधानको कार्यान्वयन खोजेको अर्थमा सरकारले बुझ्नुपर्छ ।
महिला सशक्तिकरण, परिचालन र सुरक्षा
महिला हिंसा दिनहूँ बढिरहेको छ भने बजेटका सिद्धान्तमा यतातिर विशेष ध्यान दिनुपर्ने खाँचो छ । हरेक ५५ मिनेटमा एउटा महिला हिंसाको घटना हुने गरेको तथ्याङ्क छ । यसबारे बजेटमा रकम उल्लेख गरेरमात्र हुँदैन, कार्यक्रम र बजेट लक्षित समुदाय तथा न्यायग्राही समक्ष पु¥याउने प्रभावकारी प्रबन्ध हुनुपर्छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता
शिक्षा र स्वास्थ्य सक्षम, योग्य र स्वस्थ नागरिक उत्पादन गर्ने सरकारको अनिवार्य जिम्मेवारी सम्पन्न गर्ने क्षेत्र हुन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारको विफलतामात्र होइन, यसको औचित्यमाथि पनि प्रश्न उठाउने स्थिति देखिएको छ ।
उद्योग,यातायात तथा अन्य पूर्वाधार
पूर्वाधार संरचना अत्यन्त कमजोर छ । यस हिसाबमा १२५ मुलुकमध्ये हामी ११९ औँ स्थानमा छौँ । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गको निर्माण अलपत्र छ । हुलाकी राजमार्ग तराईको विकासको ठोस कार्य हो । तर यतातिर सरकारको उचित ध्यान गएको छैन । तराईका ८ जिल्लामा विशेष आर्थिक कार्यक्रमको घोषणा गर्ने सरकारले हुलाकी राजमार्ग निर्माणको कामप्रति किन उदासिनता देखाइरहेको छ ? जवाफदेहिता कतै पाईँदैन ।
जलविद्युत
एक वर्षभित्रमा लोडसेडिङ् हटाउने, २ वर्षभित्रमा विद्युत बेच्ने घोषणाको कार्यान्वयन कहाँ पुग्यो ? हावादारी आश्वासन बाँड्दै हिँड्नु उत्तरदायी सरकारको जिम्मेवारीको द्योतक होइन । सरकारका अभिव्यक्तिहरू गँजडीका गफजस्तो भइरहेका छन् ।
द्वन्द्वपीडितका समस्याप्रति बेवास्ता
द्वन्द्वपछिको पुनःर्निर्माण निकै सुस्त छ । द्वन्द्वकालमा ध्वस्त भएका संरचनाहरू ८९१६ मध्ये केवल ३३ प्रतिशतको मात्र पुनर्निर्माण सम्पन्न भएको छ ।
पर्यटन
पुरातात्विक राष्ट्रिय महत्वका संरचनाहरू, पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर, धरहरा, नुवाकोटको ७ तले दरबारको पुनर्निर्माण तथा संरक्षणको गम्भीर अभाव यो एक वर्षमा देखिएको छ । सरकार उट्पट्याङ् हुनु शिवाय अरु केही भएन ।
समस्याग्रस्त क्षेत्र
सरकारसँगका पूर्वसम्झौता, नुवाकोटको ओखरपौवा ल्याण्डफिल साइटको सम्झौताअनुसार उचित ब्यवस्थापन हुन नसकेर पचासौँ हजार स्थानीय जनता रोगब्याध र महामारीले ग्रसित छन् । दुईपिप्ले, ओखरपौवा, कुमरी, गल्छी मोटरबाटो राष्ट्रिय रणनीतिक बाटोको नाममा २९ करोड को कामै सुरु भएको छैन ।
सामाजिक सुरक्षा
बृद्ध, असहाय, विधवा भत्ता कम्तीमा रू. २००० हजार हुनुपर्छ । हरेक विकासक्षेत्रमा कम्तीमा एउटा उपचार सुविधासहितको ज्येष्ठ नागरिक केन्द्र(जेरियाट्रिक सेन्टर) स्थापना गरिनुपर्छ ।
(संसदको बजेट अधिवेशनको क्रममा बैशाख २५ मा कांग्रेस नेता केसीले प्रिबजेट छलफलमा राखेका विचारहरुको मुख्य अंश)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago