काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको अर्थतन्त्र धान्न र सम्हाल्नै नसक्ने अवस्थातर्फ उन्मुख भएको विश्लेषण सार्वजनिक गरेको छ। 

मुलुकको अर्थतन्त्रका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आज ललितपुरको होटेल हिमालयमा एक पत्रकार सम्मेलन आयोजना गरी एमालेले यस्तो निष्कर्ष सुनाएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सार्थक हस्तक्षेप नहुने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे। ‘विभागीय मन्त्री र प्रधानमन्त्रीले दाबी गरेरमात्रै संकटोन्मुख अर्थतन्त्रबाट बाहिर निस्किन सकिन्न’, पौडेलले भने, ‘सरकारले समयमै प्रभावकारी हस्तक्षेप गर्न आवश्यक छ। श्रीलंका बन्नबाट जोगाउने फगत दाबीमात्रै होइन नीति नै त्यस्तो बनाउनुपर्यो।’

एमालेले सरकार छाड्दा स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेको दाबी गर्दै पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले ९ महिनाको अवधिमै अर्थतन्त्र डामाडोल बनाएको आरोप पनि लगाए। 

पत्रकार सम्मेलन जारी छ। सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डे, डा युवराज खतिवडा तथा योजना आयोगका पूर्वउपाध्यक्षहरुको सहभागिता छ।