काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको बताएका छन्। 

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दिगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए। पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे। ‘अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन। समस्याहरु धेरै छन्’, उनले भने, ‘त्यसमा केही मिसह्यान्डलिङ पक्कै भएको हो। यद्यपि सावधानिक रुपमा ठीक ढंगले अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ।’ 

‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु’, अर्थमन्त्री पौडेलले भने, ‘बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ, त्यसको महसुस मैले पनि गरिरहेको छु।’  

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठीक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाइ थियो। ‘सबल अर्थतन्त्र निर्माणका लागि एक एक इँटा थप्दै जाने काम गर्नुपर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक छ’, उनले भने। 

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता गरे। संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक–एक इँटा थप्ने काम गर्न उनले आग्रहसमेत गरे।