काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।
अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री महतले बताए। उनले भने, ‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ । ऋण तिर्दिन भन्नु गलत हो।’
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताए। उनले भने, ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ। केही अप्ठ्यारोहरु सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ। समग्रमा निराश हुनुपर्ने कारण छैन’, उनले भने।
बाह्य सञ्चिति, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा आत्तिहाल्नुपर्ने अवस्था नरहेको अर्थमन्त्री महतले बताए। ‘यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ। अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ’, उनले भने, ‘उद्योग–व्यवसायमा लगानीको समस्या छ। ती समस्यालाई हल गरेर एउटा सकरात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौँ भन्ने मलाई विश्वास छ।’
मन्त्री महतले अल्पकालीन र दीर्घकालीन समस्याको कुरा आएको बताए। ‘सरकारले पनि त्यही रुपमा सोच बनाइरहेको छ। अल्पीकालन समस्यामा हाम्रो ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ’, उनले भने, ‘साधारण खर्चमा हामी अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने छौँ। साधारण खर्चभित्र तलबभत्ता मात्र छैन, सामाजिक दायित्वका कुरा छन् । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ । यी कुरा हटाउन सक्दैनौँ ।’
साधारण खर्चलाई हामी हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाइने महतले बताए। ‘सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । सरकारले मध्यस्थको भूमिका निर्वाह गर्छ, कानुनी अप्ठ्यारालाई हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झ्ट हटाउने सरकार तयार छ ’, उने भने।
विदेशमा रहेका नेपालीहरुको पूँजी, ज्ञान र दक्षताको उपयोग गर्ने, पूँजीगत खर्च अझ बढाएर लैजान सरकार क्रियाशील हुने महतले बताए। ‘निजी क्षेत्रलाई लगानीमा जुन समस्या छ, बजार मन्दीबाट गुज्रिरहेको छ, सटरहरु बन्द भइरहेका छन्, खुलेकाहरु पनि घाटामा चलिरहेका छन्’, उनले भने, ‘यसका केही कारण छन्, उद्योग–व्यवसायीहरु यसबारे जानकार छन्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago