Photo:RSS
काठमाण्डौ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको पहिलो बैठकमा नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सका बारेमा कुरा उठेको छ।
छलफलमा सांसद पदम गिरीले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को लाइसेन्सबारे समितिबाट विगतमा भएको अध्ययन र त्यसको कार्यान्वयनको अवस्थाबारे सोधखोज गरिनुपर्नेमा जोड दिएका हुन्। समितिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जमा रणनीतिक साभेदार भित्र्याउन सकिने सुझाव दिएकोमा त्यसलाई लत्याएर नयाँ लाइसेन्सको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
अहिले नयाँ स्टक र धितोपत्र दलालको लाइसेन्स दिँदा आर्थिक चलखेलको आशंका भएकाले त्यसबारे समितिले तत्काल अध्ययन थाल्नुपर्ने पनि गिरीको भनाइ थियो। यद्यपि सरकारले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरिसकेको छ।
यसैगरी अर्थ समितिले अर्थमन्त्रीसमक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ। बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्नेलगायतका विषयमा छलफल भएको थियो।
बैठकमा विशेषगरी सांसदहरुले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्ति, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा अनियमिताको आशंकालगायतका विषयमा जोड दिएका थिए।
बैठकमा पूर्वअर्थमन्त्री एवं सांसद विष्णुप्रसाद पौडेलले पहिलो बैठक भएकाले कुनै अजेन्डामाथि छलफल नभएको धारणा राख्दै आगामी बैठकका अजेन्डाबारे पूर्व जानकारी गराएर छलफल हुने बताए। अर्थ समितिको सभापति चयनको काम छिटो टुंग्याउन पनि उनले जोड दिए।
अहिले अर्थतन्त्र समस्यामा रहेको बेला अर्थमन्त्रीलाई संसदीय समितिका सुझाव लगेर त्यसलाई कार्यान्वयन गर्न पौडेलले सुझाव दिए। ‘अर्थतन्त्रमा अनगिन्ती समस्या छन्। त्यसकारण समाधान कहाँबाट सुरु गर्ने भनेर हामीले पहिल्याउन जरुरी छ। यस्तो अप्ठ्यारो अवस्थामा सरकारले समितिको सहयोग र विश्वास लिएर अघि बढ्नुपर्छ’, पौडेलले भने, ‘अर्थ समितिले बजेटबारे केही नीतिगत सुझाव दिनसक्छ।’
पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विगतदेखिकै नीति र अभ्यासका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै अब अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति बनाएर सुधार गर्नुपर्ने बताए। ‘अर्थतन्त्र समस्याग्रस्त छ। यसलाई लयमा ल्याएर विकास निर्माण र समृद्धितर्फ अग्रसर गराउनुपर्नेछ। एक दिनमै अर्थतन्त्र सुधारमा चमत्कार हुनसक्दैन’, उनले भने, ‘लामो समयदेखिका अर्थतन्त्रका सबल र दुर्वल पक्ष हेर्न जरुरी छ।’
सांसद ज्ञानबहादुर शाहीले अर्थतन्त्र सुधारका लागि सरकारले के–कस्तो काम गरिरहेको छ भन्नेबारे समितिमा जानकारी गराइनुपर्ने धारणा राखे। ‘आर्थिक सूचक खस्किरहेका छन्। तर अर्थतन्त्र सुधार गर्नका लागि सरकारका पछिल्ला कदम के छन्, के गरिरहेको छ भन्ने जानकारी छैन। समितिको अबको बैठकमा अर्थमन्त्रीलाई पनि बोलाएर यसबारे जानकारी गराउन आवश्यक छ’, उनले भने, ‘समितिका गतिविधिहरु प्रभावकारी र पारदर्शी बनाउन प्रविधिको प्रयोगलाई जोड दिनुपर्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago