काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ। 

आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ।

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरुलाई आग्रह गरे। उनले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समयतालिका बनाएर अगाडि बढ्न सचिवहरुलाई निर्देशन दिए। 

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०–८१को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरुको कार्यान्वयनमा दृढ भई तयारी सुरु गर्नसमेत निर्देशन दिए। उनले भने, ‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ, त्यो कार्यान्वयन हुन्छ।’

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए। 

बैठकमा अर्थ मन्त्रालयका तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिउपर मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राखेका थिए।