काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक अलटाइम हाई नजिक पुगेको छ । 

पूर्व अनुमानअनुसार नै आज कारोबारको सुरुवातदेखि नै बजारमा निकै राम्रो हिस्सा रहेको बैंकिंग समूहको उपसूचकमा उछाल आएसँगै समग्र बजार परिसूचकमा पनि उछालकै अवस्था देखिएको हो । 

दिउँसो १ बजेसम्ममा नेप्से परिसूचक ४७ अंकले बढेर १८५७ को विन्दूमा पुगिसकेको छ । नेप्सेको अलटाइम हाई विन्दू १८८१ हो । आजको बाँकी कारोबार दिनमा पनि बजार अझै बढ्यो भने नेप्सेले अलटाइम हाईको विन्दूलाई आजै ब्रेक गर्ने संभावना देखिएको छ । 

बजारमा आज सुरुवातदेखि नै उच्च खरीद चाप देखिएको छ । दिउँसो १ बजेसम्म बैंकिंग समूह १.५८ प्रतिशतले बढिसकेको छ भने व्यापार समूह ५ प्रतिशत हाराहारीले बढेको छ । 

यस्तै, उत्पादन तथा प्रशोधन समूह ६.०८ प्रतिशतले बढिसकेको समयमा माइक्रोफाइनान्स, जीवन बिमा र निर्जीवन बिमा समूहमा पनि उछाल आएको छ । 

होटल समूहमा मात्र झिनो बढोत्तरी छ, अन्य बाँकी सबै समूहमा उछालको अवस्था देखिएको छ । 

यो समाचार तयार पार्दासम्म ७ कम्पनीको सेयरमूल्य बढेर पोजिटिभ सर्किट लागिसकेको छ । एनएमबी माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, विशाल बजार कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर, हिमालयन डिस्टीलरी, अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशत हाराहारीको बढोत्तरी भइसकेको छ । 

कारोबार समय २ घण्टा बाँकी छँदा ३ अर्ब ११ करोड बढीको सेयर कारोबार भइसकेको छ ।