काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार दोहोरो अंकले नयाँ कीर्तिमान उचाइमा पुगेको छ। 

आज बजार १२.५४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २८२७.९३ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३५ अंकले बढेर ५०७.०५ को विन्दुमा उक्लिएको छ। 

यो दिन कारोबार रकमले पनि नयाँ कीर्तिमान कायम गरेको छ। आज हालसम्मकै सर्वाधिक १७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बजेटको प्रभाव बाजारमा सकारात्मक परेको बताउँछन्। ‘कारोबार रकम नयाँ कीर्तिमान बनाएको छ, यो हिसाबले संस्थागत लगानीकर्ता बजारमा हावी भएको देखिन्छ’, उनले भने।

बढ्दो बजारमा जोखिम पनि बढी हुने भएकोले होसियारीपूर्वक कारोबारमा संलग्न हुन बास्तोलाले सुझाव दिए। ‘राम्रा र बलिया कम्पनीमा डर छैन’, उनले भने, ‘तर कमजोर र कमसल कम्पनीमा सोचविचार गरेर लगानी गर्नुपर्छ।’

बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तय गरेको करले खासै बजारलाई असर नगर्ने बास्तोला बताउँछन्। ‘यसले माग र आपूर्तिमा असर गर्ला तर समग्र बजारमा खासै प्रभाव पर्दैन’, उनले भने।

ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बजारमा आजको कारोबारलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘बढ्दो बजारमा यति कारोबार हुनु भनेको सामान्य हो’, उनले भने। 

बजारलाई कारोबारले साथ दिइरहेको पनि रानाभाटले बताए। ‘बजारमा जोखिम जहिले पनि हुन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताले सोचविचार गरेर सेयर कारोबार गर्दा राम्रो हुन्छ।’

बजारमा अझै पनि अवसर रहेको रानाभाटको भनाइ छ। ‘लगानीकर्ताहरुले पनि अवसरलाई हेरेर लगानी गरिरहेकोजस्तो देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २५५.२५ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १३५.४४ अंकले बढेको आज जीवन बीमा समूहमा ९६.०१ अंक, बैंकिङ समूहमा १९.९४ अंक, वित्त समूहमा ८३.९१ अंक, निर्जीवन बीमा समूहमा ६४.१२ अंक र म्युचुअल फन्ड समूहमा ०.५५ अंकको बढोत्तरी भएको छ। 

आज लघुवित्त समूहमा सर्वाधिक ७४.४ अंकले ओरालो लागेको छ। अन्य समूह ५४.६४ अंकले घटेको यो दिन व्यापार समूहमा ३२.६७ अंक, जलविद्युत समूहमा ०.५६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५.३१ अंक र लगानी समूहमा ०.२७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ४७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ४६ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ४१ करोड २८ लाख रुपैयाँ, अपी पावरको ४० करोड १३ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ३४ करोड ८६ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३३ करोड ३१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३२ करोड ६८ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको २९ करोड ८५ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको २९ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। ज्योति विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटेल, ओरियन्टल होटेल, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, युनियन हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

आज बरुण हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।