काठमाण्डौ । सेयर बजारले आइतबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

धितोपत्र कारोबार हुने साताको पहिलो कारोबार दिन आइतबार ५४.३१ अंकले उकालो लाग्दै बजारले नयाँ कीर्तिमान बनाएको हो। 

आज नेप्से परिसूचक हालसम्मकै उच्च ३०५८.६८ को विन्दुमा उक्लिएको हो। योसँगै नेप्सेले यसअघि गत जेठ ३१ गते बनेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत जेठ ३१ गते नेप्सेले ३०२५.८३ को विन्दु चुमेको थियो। 

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.७४ अंकले उकालो लागेको छ। योसँगै सेन्सेटिभ इन्डेक्स ५७४.०२ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि सवा १४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार नेप्सेले कीर्तिमान बनाएकोप्रति सबैलाई बधाइ दिन्छन्। ‘सबैको प्रयासका कारण आज बजार पुनः उच्चतम विन्दुमा पुग्न सफल भएको छ’, रौनियार भन्छन्, ‘आज कारोबार रकम पनि बढेकोले छिटै बजारमा २० अर्ब बढीको कारोबार हुने सम्भावना छ।’

अब धमाधाम सूचीकृत कम्पनीहरुका गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक हुने भएकोले बजारले थप गति लिने रौनियारको विश्वास छ। ‘अहिलेसम्म आएका केही बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्टहरु राम्रै छन्’, उनले भने, ‘अन्यको पनि राम्रै आउँछ भन्ने विश्वास छ।’

आज बैंकिङ समूहमा चमक देखिएको बताउँदै रौनियारले बैंकहरु अझै बढ्न बाँकी नै रहेको बताउँछन्। ‘बैंकको इन्डेक्स र मूल्य अझै अन्डरभ्यालू नै रहेकोले राम्रा बैंकहरुको सेयर उठाएर केही समय होल्ड गर्न सके फाइदै हुन्छ’, उनले भने। 

मौद्रिक नीतिका विषयमा गलत हल्ला फैलाएर बजार घटाउने प्रयास विफल भएको पनि रौनियारले बताए। ‘आजको बजार बढाइले यसलाई पुष्टि गरेको छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार विस्तार माथि नै जाने बताउँछन्। ‘करेन्सन लगभग सकिएर बजार बढ्न सुरु गरेको छ’, उनले भने, ‘नयाँ अर्थमन्त्री पनि पुँजी बजारप्रति सकारात्मक देखिनु र पुँजी बजार विकास र विस्तारका बाँकी काम गर्न पनि प्रतिबद्ध हुनुले लगानीकर्तामा आत्मबल बढेको छ, त्यसको नतिजा आज बजारले नयाँ उचाइ चुमेको हो।’

बजार सेक्टरवाइज बढ्दै अगाडि नै बढ्ने न्यौपानेको तर्क छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

आज बैंकिङ समूहमा उछाल आएको छ। यो समूहमा ३.४३ प्रतिशतको बढोत्तरी भएको छ। जलविद्युत् समूह २.३९ प्रतिशतले बढेको यो दिन विकास बैंक समूहमा ०.२७ प्रतिशत, वित्त समूहमा ०.९९ प्रतिशत, लगानी समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, अन्य समूहमा ०.२८ प्रतिशत र व्यापार समूहमा ०.०७ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूह १.२९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.७१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२.१५ रुपैयाँको कारोबार भएको छ। 

यो दिन नेपाल बैंकको सर्वाधिक ४९ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनसीसी बैंकको ३४ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको ३४ करोड २ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३३ करोड ८० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३३ करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३१ करोड ६५ लाख रुपैयाँ, प्रभु बैंकको २९ करोड ९० लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड १० लाख रुपैयाँ, मेगा बैंकको २७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी जलविद्युत, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। अरुण काबेली पावरको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज ओरियन्टल होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो होटेलको सेयरभाउमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।