काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारले नयाँ उचाइ चुमेको छ।

आज बजार ५१.९७ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। आजको बढोत्तरीसँगै नेप्से परिसूचक ३१६१.५६ को विन्दुको नयाँ उचाइमा पुगेको छ। 

योसँगै यसअघि गत साता बुधबार नेप्सेले कायम गरेको कीर्तिमान तोडिएको छ। त्यस दिन नेप्से ३१२३.४५ को विन्दुमा पुगेको थियो।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.०९ अंकले बढेर ५८८.०५ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि बढेर पौने १८ अर्ब बढीको भएको छ। 

बजार जानका मुक्तिबहादुर खत्री आजको बजार बढाइले बजार चौतर्फी रुपले सकारात्मक रहेको पुष्टि भएको बताउँछन्। ‘अर्थमन्त्री पनि पुँजी बजारप्रति सकारात्मक, लकडाउन लम्बिने देखिन्छ, लाभांशको समय पनि हो’, उनले भने, ‘त्यसैले बजार सकारात्मक हुने देखिन्छ।’

साउन र भदौमा बजार बढ्ने सिजन भएको उल्लेख गर्दै खत्रीले आफूले गरेको लगानीबाट प्रतिफल खाने समय पनि भएकोले बजार सकारात्मक नै हुने देखिन्छ। 

तरलता पनि सहज नै रहेकोले बजारलाई सकारात्मक प्रभाव पर्ने खत्रीको भनाइ छ। बजारप्रति लगानीकर्ताको विश्वास बढ्दै गएकोले सेयर बजारमा थप चमक आउने उनको भनाइ छ।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल कोभिडको घटिनसकेकोले भदौ र असोजसम्म बजार सकारात्मक नै रहने बताउँछन्। ‘अन्य क्षेत्र राम्ररी खुलिसकेका छैनन्, त्यसैले सेयर बजारको विकल्प छैन’, उनले भने।

मौद्रिक नीति पनि बजारअनुकूल आउनेमा सबै विश्वस्त हुन थालेको कँडेल बताउँछन्। बजारमा लाभांशको सिजन सुरु भएकोले लगानीकर्ताहरु राम्रा प्रतिफल दिने कम्पनीतिर आकर्षित हुन थालेको उनको भनाइ छ। ‘अहिले लगानी गर्ने उपयुक्त समय हो’, उनले भने।

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ८.०७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ६.७८ अंकले बढेको आज बैंकिङ समूहमा १.८७ प्रतिशत, लगानी समूहमा १.८६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६७ प्रतिशत, अन्य समूहमा ०.४१ प्रतिशत, लघुवित्त समूहमा १.२९ प्रतिशत, जीवन बीमा समूहमा १.१८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह १.६६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.२४ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर १७ करोड ८४ लाख ६१ हजार ४७ हजार २७८.६० रुपैयाँमा किनेबेच भएका छन्।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ८९ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ५१ करोड ९२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४१ करोड ५१ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३९ करोड ९३ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३४ करोड ६७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३४ करोड ४३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३३ करोड २३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ३२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक र मल्टीपर्पस फिनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनानस र समृद्धि फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज सान्जेन जलविद्युत र सिनर्जी पावरको सेयरधनीहरुले धेरै गुमाए। सान्जेनको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ भने सिनर्जी पावरको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।