काठमाण्डौ । सेयर बजारले बुधबार नयाँ उचाइ चुमेको छ।

पछिल्लो केही दिनदेखि सामान्य रुपमा बढिरहेको बजार आज ३८.२८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१९८.६० को विन्दुमा उक्लिएको छ। योसँगै नेप्सेले हालसम्मकै उच्च विन्दुमा उक्लिएको छ। 

यसअघि गत साउन ३० गते नेप्सेले हालसम्मकै उच्च ३१७८.९१ को विन्दु चुमेर नयाँ कीर्तिमान बनाएको थियो। जुन कीर्तिमान आज तोडिएको छ। 

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८३ अंकले बढेर ५९८.११ को विन्दुमा उक्लिएको छ। यो दिन सवा २१ अर्ब रुपैयाँ बढीको करोबार भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजारको ट्रेन्ड बुलिस नै रहेको बताए। कोरोनाको त्रास कायमै रहेकोले बजार अझै बढ्ने बिष्टको भनाइ छ। ‘आगामी असोजसम्म बजारले ४००० को विन्दुसम्म पुग्न सक्छ’, उनले भने। 

तरलताको अवस्था सहज रहेकोले ब्याजदर तत्काल बढ्ने सम्भावना नरहेको बिष्ट बताउँछन्। ‘राष्ट्र बैंकको मौद्रिक नीतिको व्याख्या आउँछ, त्यसमा १ खर्ब माथि तरलता हुने सम्भावना देखिन्छ’, बिष्टले भने। 

सक्रिय लगानीकर्ता पवर्त बिष्ट आजको बढाइले बजार लयमा फर्किएको भन्न सकिने बताए। ‘मौद्रिक नीतिमा केही असन्तुष्टि थिए, त्यसैले बजारमा केही दिन सामान्य प्रभाव पर्यो’, उनले भने, ‘अब बजारले लय समातेको देखिन्छ।’

बुलिस बजारमा कमजोर कम्पनीका सेयरमा लगानी बढेकोले जोखिम पनि बढ्दै गएको बिष्टको भनाइ छ। ‘विशेषगरी यसबाट साना लगानीकर्ताहरु सचेत हुन आवश्यक’, उनले भने। 

अहिलेको अवस्थामा आधारभूत रुपमा बलिया कम्पनीमा लगानी गर्न बिष्टले सुझाव दिए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह ५.५५ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.८७ प्रतिशतले बढेको आज उत्पादन तथा प्रशोधन समूहमा ३.५५ प्रतिशत, बैंकिङ समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१७ प्रतिशत, जलविद्युत समूहमा १.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५९ प्रतिशत, अन्य समूहमा ०.१६ प्रतिशत, लघुवित्त समूहमा ०.०३ प्रतिशत, जीवन बीमा समूहमा ०.८६ प्रतिशत र लगानी समूहमा १.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूह १.३९ प्रतिशत र व्यापार समूह ०.४ प्रतिशतले ओरालो लागेका छन्। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३ अर्ब ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँबराबरको कारोबार भएका छन्। 

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ७८ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ६३ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख रुपैयाँ, ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ५६ करोड ८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४७ करोड १८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ७५ लाख रुपैयाँ, नेपाल बैंकको ४३ करोड ५२ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ४२ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्य पोजिटिभ सर्किट लागेको छ। अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली, पावर, शिवम् सिमेन्ट्स र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेका छन्।

यो दिन आरएडीसी लघुवित्त र खानीखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।