इलाम । नेपाल–भारत खुल्ला सीमानाकाका कारण गुणस्तरीय नेपाली अलैँचीमा कम गुणस्तरको अलैँची मिसाइँदा समस्या हुन थालेको छ । 

भारतीय बजार हुँदै नेपाल भित्रिएको कम गुणस्तरको अलैँची मिसावटका कारण नेपाली अलैँची बजार समस्यामा पर्न थालेको हो । 

नेपाल–भारत खुल्ला सीमानाका हुँदै नेपाली बजारमा भित्रिने कम गुणस्तरको अलैँची केही व्यापारीले नेपाली अलैँचीमा मिसावट गरी बेच्ने गरेका कारण विश्व बजारमा पहिचान बनाइसकेको नेपाली अलैँचीको गुणस्तरमै शंका सिर्जना गराउन थालेको स्वयम् व्यापारी नै बताउँछन् । 

अलैँची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकीका अनुसार इलाममा कम गुणस्तरको विदेशी अलैँची नदेखिए पनि झापाको बिर्तामोडलगायतका ठूला बजारमा नेपाली अलैँचीमा कम गुणस्तरको अलैँची भेटिएकाले मिसावटको समस्या सञ्जालकै रूपमा भइरहेको पाइएको हो । 

भारतको नयाँदिल्ली, लाओस, चीन, भियतनामलगायतका देशबाट नेपाल–भारत खुल्ला सीमानाका हुँदै कम गुणस्तरको अलैँची ल्याएर नेपालमा उत्पादित अलैँचीमा मिसाएर बेच्ने गरिएको चर्चा महासङ्घ आबद्ध व्यवसायीहरुमाझ छलफलसमेत भएको जानकारी दिँदै खाकीले भने–‘रु ५०० प्रतिकिलोमा पाइने गुणस्तरहीन अलैँची मिसाएर बेच्ने केही व्यवसायीको गलत मनसायले नेपाली अलैँचीको बजारलाई बदनाम हुँदैछ ।’

भारत हुँदै नेपाल आइपुग्ने यस्तो अलैँचीको स्वाद खल्लो हुने जनाइएको छ । नेपाली अलैँची प्रतिकिलो दुई हजारसम्ममा बिक्री हुने हुँदा यसमा मिसावट गर्दा व्यापारीलाई बढी मुनाफा आउने भएकाले पनि गलत प्रवृत्तिका केही व्यापारी नेपाली अलैँचीको पहिचानलाई बदनाम गर्दै लाभ लिइरहेको खाकी बताउँछन । 

अलैँचीको दानामा अलैँचीको दाना जस्तै देखिने जङ्गली बिरुवाको दाना ‘चुरुम्फो’ मिसावट गरिएको पाइएपछि ठूला व्यापारीले दाना अलैँची किन्न छोडेको खाकीले बताए । 

विगतमा प्रतिमन झन्डै एक लाख २० हजार बिक्री हुँदै आएको अलैँचीको दानाको किनबेच अहिले ठप्प भएको छ । भारतीय बजार हुँदै आउने कमसल अलैँचीको मिसावटपछि नेपालबाट पुनः भारत, बङ्गलादेशलगायतका बजारमा बिक्रीका लागि पुग्ने गरेको छ । 

तर, नेपालमा सबैभन्दा बढी अलैँचीखेती हुने ताप्लेजुङ, पाँचथर, इलामलगायतका जिल्लामा अहिलेसम्म मिसावट नपाइएको अलैँची व्यवसायी महासंघ इलामले जनाएको छ ।