काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजार ३४.९५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३८६.०१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ को विन्दुमा आर्लेको छ। सेयर किनबेच पनि २ अर्ब रुपैयाँमा सीमित बनेको छ। 

बजार जानकार मुक्ति अर्याल आज अल्पकालीन लगानीकर्ता हावी हुँदा बजारमा गिरावट आएको बताउँछन्। ‘हिजो लगभग १०० अंकले बढेको बजारमा आज नाफाबुक भएको छ’, उनले भने, ‘अल्पकालीन लगानीकर्ताहरुले आफूसँग पहिला नै रहेको सेयर बेच्दा बजारमा गिरावट आएको हो।’

बजारको ठूलो करेक्सन भने रोकिएको अर्यालको भनाइ छ। ‘त्यसैले बजारको प्रस्ट यात्रा पहिल्याउन अझै केही समय नियाल्न आवश्यक देखिन्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता दामोदर गजुरेल आज बजार बिक्रीचाप परेको बताउँछन्। ‘यसलाई स्वाभाविक रुपमा लिनुपर्छ’, उनले भने, ‘बजार अझै केही समय साइडवेजमै चल्ने देखिन्छ।’

चुनावपछि अन्य सेक्टरका पैसाहरु बैंकिङ च्यानलमा आउने र पुँजीगत खर्च पनि बढ्दै जाने हुनाले जेठबाट बजारले गति लिन सक्ने गजुरेल बताउँछन्। प्राविधिक रुपमा बजारलाई हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई टेस्ट गरेर तल झरेको उनको भनाइ छ। ‘यसले पनि बजार केही समय साइडवेजमै चल्ने संकेत गर्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.८२ प्रतिशतले उकालो लागेको छ। आज होटेल तथा पर्यटन समूह ०.१३ प्रतिशतले बढेको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.२६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०४ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०२ प्रतिशत, व्यापार समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.८७ प्रतिशत, वित्त समूहमा १.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, जीवन बीमा समूहमा १.५३ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्से सूचीकृतमध्ये २३९ कम्पनीका ५० लाख ४७ हजार ७६९ कित्ता सेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा किनेबच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ५ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ३८ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड १९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ७२ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ४ करोड ७० लाख रुपैयाँ र एचआईडीसीएलको ४ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिसहित पोजिटिभ सर्किट लागेको छ।

यो दिन सेन्ट्रल फाइनान्सका सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।