– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजार लगानीका लागि निकै जोखिमको क्षेत्र मानिन्छ। बजार र कम्पनीको राम्ररी अध्ययन नगरी लगानी गर्नेहरुले कमाउनेभन्दा पनि गुमाउने सम्भावना बढी हुन्छ। 

सेयर बजार बुल र बियरको चक्रमा चल्ने गर्छ। बिना अध्ययन बुल बजारमा छिरे लगानी गर्नेहरुले प्रायः घाटा व्यहोर्ने गरेका छन्। 

सुरेन्द्र थापा (नाम परिवर्तन) राम्रो नाफा कमाउने सपना देखेर सेयर बजारमा लगानी गर्नेहरुमध्ये एक हुन्। बालाजुमा राम्रै घर–जग्गा जोडेका थापा नेपाल सरकारको उच्च पदबाट केही वर्षपहिले मात्रै अवकाश भएका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

सानो परिवार सुखसयलमा चलिरहेको थियो। पारिवारिक खुसियाली त कायमै छ तर थापालाई सेयर बजारले ठूलो पीडा दिएको छ। ‘३५ वर्ष सरकारी सेवा रहेँ, अवकाशपछि प्राप्त रकम र मसँग भएको केही रकम थप गरी १ करोड ६० लाख रुपैयाँ २ वर्षअघि सेयर बजारमा लगानी गरेँ’, उनले भने, ‘अहिले त्यो लगानी गरेको रकम घटेर ४० लाख रुपैयाँमा झरेको छ।’

त्यतिबेला साथीभाइ, छरछिमेक, सामाजिक सञ्जाल सबैतिर सेयर बजारको व्यापाक चर्चा भएको थापा सम्झिन्छन्। ‘चिनजानका केही व्यक्तिले सेयर बजारबाट ६ महिनामै दोब्बर रकम कमाउन सफल भएको सुनाए’, थापाले भने, ‘यस्ता खबरले म पनि उत्साहित भएँ र सेयर बजारमा लगानी गर्न मलजल पुग्यो।’

सामाजिक सञ्जाल र साथीभाइकै उक्साहटमा परेर आफूले शिवम सिमेन्टको १० हजार कित्ता सेयर १ हजार ६०० रुपैयाँका दरले किनेको थापाले जानकारी दिए। ‘सेयर बजारमा कारोबार हुने नेपालको एकमात्र सिमेन्ट उद्योग शिवम थियो’, उनले भने, ‘बजारमा  हिमालयन डिस्टिलरीको जस्तै सेयरभाउ बढ्छ भन्ने निकै हल्ला थियो, कतिले त शिवम सिमेन्टको सेयरभाउ बढेर ३ हजार रुपैयाँसम्म पुग्ने ठोकुवा पनि गरे। अनि मैले पनि हौसिएर आफूसँग भएको सबै पैसा शिवम सिमेन्टको सेयरमा लगानी गरेँ।’

प्राथमिक सेयरमा भने थापाले १५ वर्षपहिलेदेखि नै लगानी गर्दै आएका थिए। ‘प्राथमिक सेयरमा त नाफा पनि भएकै थियो’, उनले भने, ‘त्यसैले मसँग रहेको अन्य कम्पनीका सेयरसमेत बेचेर शिवम सिमेन्टमा लगानी गरेँ, अहिले पछुतो लागिरहेको छ।’

विदेशमा जस्तै कम्पनीले कमाउँदै जाने र प्रत्येक वर्ष राम्रो लाभांश दिने आश पनि आफूले राखेको र अलि–अलि हल्लाले पनि आफूलाई उचालेका कारण पनि लगानी गरेको थापाले सुनाए। ‘अन्य क्षेत्रभन्दा फरक भएकोले विकास निर्माणको काम बढ्दै जाने र सिमेन्टको खपत पनि बढ्दै जाँदा कम्पनीले हरेक वर्ष रिजर्भ बढाउँदै जान्छ भन्ने लागेको थियो। रिजर्भ बढ्दै जाँदा सेयरभाउ पनि बढ्ने अनि लाभांश पनि राम्रो बाँड्ने आश थियो’, उनले भने, ‘तर, सोचेजस्तो शिवम सिमेन्टले लाभांश दिएन। सेयरभाउ पनि ह्वात्तै घटेको छ। अब लगानी उठाउनै वर्षौं लाग्ने देखिन्छ।’

नेपालमा हरेक क्षेत्रमा जालझेल हुने गरेको थापाले गुनासो गरे। ‘टाठाबाठाहरुले पूरै जाल थापेर शिवम सिमेन्टको सेयर कारोबार गराएका रहेछन्, हामीजस्ता सोझा मान्छेलाई फसाएर उनीहरु उम्किए’, उनले भने, ‘अहिले बूढेशकालमा ३५ वर्षदेखि जम्मा गरेको सम्पत्ति खोलाले बगाएजस्तै भयो।’
अहिले रातभर निद्रा पनि नलाग्ने गरेको पीडा थापाले सुनाए। ‘घरपरिवार सदस्यदेखि लिएर आफन्त सबैले पैसा डुबाइस् भनेर नराम्रो व्यवहार गर्छन्’, उनले भने, ‘त्यही कारणले धेरै तनाव लिएर होला सुगर–प्रेसरले पनि च्यापेको छ। उता दिन बित्दै जान्छ, सम्पति घटेको घट्यै छ।’

नेपालको बजारमा लगानी गर्नेहरु निकै चलाख हुनुपर्ने सुझाव थापा दिन्छन्। ‘यहाँ लाभांशभन्दा पनि घट्दा किन्ने र बढ्दा बेच्न जान्नेले मात्र पैसा कमाउने रहेछन्’, उनले भने, ‘यही रणनीति अपनाएर लगानी गर्न म सबैलाई सल्लाह दिन्छु।’