काठमाण्डौ । उद्योग–व्यवसायीले अवस्था सामान्य नहुन्जेल धितो लिलामी गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत विभिन्न ८ वटा व्यवसायी महासंघ (नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, दुवानी व्यवसायी महासंघ नेपाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपाल, सार्वजनीक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल मोबाइल व्यवसायी महासंघ एवं होटल व्यवसायी महासंघ) तथा ३५ वटा सदस्य संघहरुको संयुक्त आयोजनामा आज काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा यस्तो माग गरिएको हो। उनीहरुले ९ बुँदे मागसहितको संयुक्त वक्तव्य पनि जारी गरेका छन्।
उद्योगी–व्यवसायीले बैकिङ ब्याजदर १ अंकमा कायम गर्न माग गरेका छन्। ‘बैंकिङ ब्याजदरमा एकरुपता कायम गर्नुपर्छ’, विज्ञप्तिमा माग गरिएको छ, ‘अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर्नुपर्छ।’
सहुलियत कर्जा १५ लाख रुपैयाँबाट २५ लाख रुपैयाँसम्म कायम गर्नुपर्ने माग पनि उनीहरुले अघि सारेका छन्। बैंक तथा वित्तीय क्षेत्रले गर्ने लगानी कम्तीमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्नुपर्ने उनीहरुको माग छ।
यसैगरी ब्याज स्प्रेडदर बढीमा २ प्रतिशत कायम गर्न पनि उद्योगी–व्यवसायीले माग गरेका छन्। ‘कर्जा सेवाशुल्क ०.२५ प्रतिशत भित्र कायम गर्न र ओभर ड्राफ्टलाई सहज र सरलिकरण गराउनुपर्छ’, विज्ञप्तिमा माग गरिएको छ, ‘ संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गर्नुपर्छ।’
‘हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा महाभूकम्प, कोरोना महामारी, अन्तराष्ट्रिय आर्थिक मन्दी एवं सरकार तथा सम्बन्धित निकायको गैर जिम्मेवारी पूर्ण निति र व्यवहारका कारण देशको अर्थतन्त्र तहस नहस भई संकटग्रस्त बन्न पुगेको कुरा सम्पूर्ण आमनागरिकमा जानकारी नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘मूलतः देशको अर्थतन्त्र चलाउने निकायले सीमित घेराभित्र रहेको समूहको स्वार्थमा केन्द्रित रहेर काम गर्नाले नै यस्तो परिस्थितीको सिर्जना भएको हो। यसको प्रत्यक्ष मार भने साना तथा मझौला उद्योगीव्यवसायी वर्गले भोग्नुपरेको छ। जसका कारण आज देशमा उद्योग धन्दा बन्द हुने र रोजगारी गुम्न पुगी वैदेशीक रोजगारीमा श्रम बेच्नु परेको छ।’
देश विकासमा लगाउनुपर्ने दक्ष श्रम बिदेश पलायन हुनु परेपछि देशको आर्थिक उन्नति कहिले र कसरी होला देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको सम्पूर्ण उद्योगी–व्यवसायीहरु आफ्नो पेशा व्यवसायबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तिय क्षेत्रको अव्यवहारिक गलत नीति निजि स्वार्थ, सरकारले दिर्घकालिन उत्पादनमुखी अर्थतन्त्रतर्फ प्राथमिकता नदिनु एवम् मुलुकमा रहेका राजनैतिक दलहरुको गैरजिम्मेवारीपूर्ण कार्यशैली नै प्रधान रहेको विज्ञप्तिमा भनिएको छ। ‘यही किसिमको अर्थ नीति र सिर्जित परिस्थितिले नै व्यवसायी निराश भई आत्महत्या गर्ने बाटो रोज्न पुगिरहेका छन्। यसतर्फ सम्बन्धित पक्ष तथा निकायको ध्यान जाओस् भन्दै ध्यानकर्षण गराउने प्रयत्न गरिरहेका छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘यस किसिमको भयाभव र विकराल अवस्थाको अन्त्यका लागि सरकार, सम्बन्धित निकाय यथासिघ्र व्यवसायी वातावरणको बाटो तर्फ उन्मुख निति लिई कार्यान्वयनको दिशामा लाग्न ध्यानकर्षण गराउन चाहन्छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19