-अर्जुन तिमिल्सिना
बिहानको ७ बज्दै थियो, मेरो ढोकामा जोड तरिकाले टक टक आवाज आयो । कसले किन यति हतारले ढोका खोल्न भन्यो । मलाई म हतार–हतारमा ढोका खोल्न पुगेँ । एकजना साथी  घरमा दुई हल गोरु पाले जसरी मलाई भन्दै हुनुहुन्थ्यो–आज  खेत रोप्न जाऊ, के गरेर बसेको आज असारमा पनि यसरी घर बस्ने हो ? यसरी नै मलाई थर्काइरहनु भएको थियो । 

मैले बिनम्रसँग जवाफ दिए दुईचार दिनमा म आफ्नै खेत रोप्न जिल्ला जाने हो, साथी फोटो खिचेर फेसबुकमा राख्नका लागि त आज खेतमा नजाम भो । त्यसपछि उहाँ फर्कनु भयो, म एकछिन सोच्न थाले । हाम्रो देश भनेको कृषि प्रधान देश हो, हामी कृषिमै  निर्भर छौ । र, हाम्रो अर्थतन्त्रको  कुल ग्राहस्थ उत्पादनम  झण्डै ३० प्रतिशत योगदान कृषिकै छ भने हामीले कृषिलाई उपेक्षा कसरी गर्न मिल्छ ? कृषि उत्पादनले राष्ट्रिय अर्थतन्त्रलाई  सहयोग गर्छ भने राष्ट्रिय अर्थतन्त्रले शेयर बजारलाई प्रत्यक्ष असर गरेको हुन्छ ।

सरकारी लक्ष्य जे जस्तो भए पनि यो बर्ष ७ प्रतिशत रहेको आर्थिक वृद्धि आउने वर्ष ८ प्रतिशत रहने पक्कापक्की छ । किनकि दुईचार वर्ष देखि हामीलाई मनसुनले साथ दिएको छ । मनसुन राम्रो हुने बित्तिकै कृषि क्षेत्रलाई मात्र सहयोग नभएर जलविद्युत क्षेत्रमा पनि राम्रो उत्पादन हुन जान्छ। जसले राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर गरेके हुन्छ । साच्चि नै यो महिना मानो छरेर मुरी उत्पादन गर्ने बेला नै हो ।

एकजना साथीले आघिल्लो बेलुका अमेरिकाबाट  फोन गरेर सोध्नुभयो । अहिले  नेपालमा के छ शेयर बजारको अवस्था ? मर्जको हल्ला छ कस्तो कम्पनीको शेयर किन्दा हुन्छ ? मेरो जवाफ रह्यो–यो असारको बेला देशमा खेत रोप्ने र शेयर छोप्ने दुवै चटारो छ । सस्ता र राम्रा कम्पनी छानेर किने पक्कै  राम्रो होला । जोखिम भने आँफै ख्याल गर्नुहोस् है, रोपेको धानमा किरा लाग्ने, मुसा लाग्ने डर हुन्छ भने शेयरमा त खेत नै पहिरो जानेसम्मको जोखिम हुन्छ ।

हाम्रो एउटा भनाई छ रोपे फल्छ । रोपे त पक्कै फल्छ, तर अगाडिका जोखिम के कति छन् ती सबै कुराको जोखिम मूल्याङ्कन गर्नु आवश्यक छ ।

धान पाक्न लाग्दा असिना पर्ने डर हुन्छ भने फल्दै नफल्ने पनि जोखिम हुन्छ । शेयरमा त कुनै कम्पनीले कुनै बर्ष कत्ति पनि लाभांश नदिन, कतिले त बर्षौ सम्म पनि नदिने र टाट पल्टने सम्मको जोखिम हुन्छ । तर पनि न धान रोप्ने किसानले धान रोप्न छोड्छ न त  शेयर ब्यापारीले शेयर किन्न नै । सबैतिर आशै आश हुन्छ, उनीहरुलाई लाग्छ कालो बादलमा पनि चाँदीको घेरा  हुन्छ ।

शेयरमा लगानी किन गर्ने ?
मासिनमा सीमित साधन र असीमित आवश्यकता हुन्छ। त्यही आवश्यकता पूर्तिका लागि हरेकले एक न एक पेशा गरेको हुन्छ । चाहे त्यो डाक्टरको बिरामीलाई दिने सेवा होस् वा कुनै शिक्षकले विधार्थीलाई दिने ज्ञान होस् । त्यसबापत आफूले पाएको पारिश्रमिकबाट बचत गर्ने बानी हुन्छ । अहिलेको दुनियाँमा सबैले बुझेको एउटा  कुरा के हो भने जागिरबाट मात्र आफ्नो सबै आवश्यकता पूर्ति हुन्न र आफूसँग भएको रकमलाई कुनै लगानीमार्फत दुई तीनगुणा बनाउने माध्यमको खोजीमा हुन्छन् । त्यसैका लागि कसैले घर जग्गा किन्ने , कसैले सुनमा लगानी गर्ने र कसैले शेयर अथवा बोण्ड खरिद गर्ने गर्छन् । यी सबै मासिनको आवश्यकता, रुचि र चाहनामा भर पर्ने कुरा हो, तर संसारमा मानिस जहिले पनि सुरक्षित लगानी गर्न चाहन्छ ।

अहिले नेपालमा बढेको सुनको मूल्य पनि त्यही एउटा कारण हो । जब अमेरिकी मार्केटका लगानीकर्ता इरान र चाइनासँग व्यापारिक द्वन्द्वका कारण सुनलाई सुरक्षित ठानेर गोल्ड मार्केटतिर आकर्षित भए अनि संसारमा सुनको मूल्य बढ्यो । मूल्य जहिले पनि माग र आपूर्तिले निर्धारण गर्ने चिज हो । त्यसो भए नेपालका लगानीकर्ताले केमा लगानी गर्ने त ? 

नेपालको हरेक वस्तुलाई दाँजेर हेर्ने हो भने सबैभन्दा सस्तो चिज शेयर नै हो । दुई डलरमा संसारमा एक बोत्तल पानि पाइन्न, तर नेपालमा बाणिज्य बैंकको  एक कित्ता शेयर किन्न त्यति खर्चनु पर्दैन भने अब सहज उत्तर केमा लगानी गर्ने ? पहेँलो धातुको मूल्य त यति महँगो भयो कि अब शुभ विवाहमा पनि कुशले काम चलाउने बेला आयो । एकजना सरकारी जागिर खाएको साथीलाई मैले शेयर किनिदिए, उ यसरी खुसी थिए कि आजसम्म जागिर खाएर बचत भएन । शेयर खरिद गर्न थालेपछि थोरै थोरै बचत हुन थालेको छ र अब उक्त बचतबाट उनले भबिष्यमा आइपर्ने आफ्नो सन्ततिको शिक्षा तथा विवाहका लागि हरेक बच्चाको नाममा अहिलेबाट नै आइपीओ लगानी तथा दोश्रो बजार बाट खरिद गरेर कम्तीमा १५–२० वर्षका लागि लगानी योजना बनाउँदै छन् । शेयरमा धेरै मानिसले धेरै उद्देश्य ले गर्छन । कसैले घट्दा किन्ने बढ्दा बेची हाल्ने हुन्छन्, जसलाई ट्रेडर भनिन्छ जुन जोखिमको मात्र बढी हुन्छ । सधैं आफूले किनेपछि बढ्छ भन्ने निश्चित हुन्न । जसलाई शेयर बजारको राम्रोसँग ज्ञान हुन्न, उनीहरुले म्युचुल फण्डमा लगानी गर्ने गर्छन् । 

यो तुलनात्मक रुपमा कम जोखिम हुन्छ । जोखिम हरेक ठाउँमा हुन्छ, स्वर्ग देख्न सबै चाहन्छन्, तर मर्न कोही चाहदैनन् भने जस्तै नाफा सबै  चाहान्छन, तर आँट गरेर लगानी गर्ने कमै हुन्छन । शेयर  बजार जोखिमको क्षेत्र हो, जहिले पनि जोखिम गणना गरेर आफ्नो बचतबाट मात्र दीर्घकालीन योजना बनाएर लगानी गर्यो भने पैसैपैसा बनाउने ठाउँ पनि  हो र धेरै लोभ गरेर भुइँको टिप्न खोज्दा  कहिलेकाही आफ्नै गोजीको पनि जाने क्षेत्र यही हो ।