काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी असार १७ र १८ गते काठमाडौंमा OECD-SEBON Conference and Roundtable on Financial Consumer Protection and Education in Asia Pacific  विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यो कार्यक्रम  नेपालमा पहिलो पटक हुन गइरहेको हो ।
 
आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले धितोपत्र बोर्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन गरिएको अथक मिहिनेत स्वरुप सम्मेलन हुन गइरहेको उल्लेख गर्दै वित्तीय साक्षरताले मुलुककै विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । नेपालको साक्षरता करिब ७० प्रतिशत रहेको भएतापनि वित्तीय साक्षरता १८ प्रतिशत मात्र रहेकाले लगानीकर्ताको हकहित र साक्षरता अभिवृद्धिमा सकारात्मक टेवा पुग्ने बोर्डका अध्यक्ष कार्कीको बुझाइ छ ।
 
 
अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्घाटन हुने तथा प्रमुख वक्ताको रुपमा सम्बोधन हुने सो सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्टे«लिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन र भारत लगायत देशहरुका साथै यससँग सम्बन्धितअन्य संस्थाहरु OECD, SEBI, Australian Securities and Investments Commission (ASIC), Centre for Financial Literacy, Singapore लगायत विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरुको सहभागिता रहनेछ । 
 
पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता सहित नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक,बीमा समिति,कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि., अन्य धितोपत्रबजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुका प्रतिनिधि तथा विश्वविद्यालयका प्राध्यापकहरु गरी कुल १२५ जनाको सहभागिता रहने छ ।
 
OECD एक अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वमा मानवजीवनको समृिद्धका लागि असल तथा प्रभावकारी नीति बनाउन मद्दत गर्दछ । यसको मुख्य उद्देश्य भनेको समृद्धि, समानता र अवसरहरुकोनिर्माणमा सहयोग पुरयाउनु हो । विश्व अर्थतन्त्रको सुनौलो भविष्य निर्माणका लागि यो संस्था विगत ६० बर्षदेखि क्रियाशील रहेको छ ।
 
यस संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय साक्षरता, युवा तथा महिलावर्ग, दीर्घकालिन बचत तथा लगानीलगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिबृद्धिका लागि कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित OECD/INFE मा  हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेका छन् ।