काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आउँदो असार ८ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा कम्पनीले अतिप्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. १ र वडा नं. ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लावासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गर्नेछ। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाखा तथा प्राइम कमर्सियल बैंकको राँके शाखामा आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिमको आवेदन नपरेको खण्डमा साउन ५ गते बैंकिङसम्म आवेदन दिन सकिनेछ। 

पिपुल्स पावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।