काठमाण्डौ । आगामी असोज १४ देखि १८ गते(३० सेप्टेम्बरदेखि ४ अक्टुबर) भृकुटीमण्डपमा ‘थाइल्याण्ड–नेपाल फेस्टिबल २०१६’ आयोजना हुने भएको छ । 

विभिन्न देशहरुमा व्यापार मेला आयोजना गरेर नाम कमाएको थाई कम्पनी सियामलाङचाङले थाई दूताबास र ललितपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा थाइल्याण्ड–नेपाल व्यापार मेला आयोजना गर्न लागेको हो । 

शुक्रबार मेलाको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सियामलाङचाङ कम्पनीका अधिकारीहरुले संस्थागत र वृहत रुपमा आयोजना हुन लागेको मेलामा १५० भन्दा बढी व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता रहने बताएका छन् । 

कम्पनीका प्रबन्ध निर्देशक जित्राले नेपाल र थाइल्याण्डबीचको व्यापार सम्बन्ध प्रगाढ बनाउन, नेपालीहरुमाझ गुणस्तरीय थाइल्याण्ड उत्पादनलाई परिचित गराउन मेला आयोजना गर्न लागिएको स्पष्ट पारिन् । उनले धेरै नेपालीहरुले पछिल्लो समय सामान किन्ने विदेशी गन्तव्यको रुपमा थाइल्याण्डलाई रोजिरहेको अवस्थामा नेपालमै त्यस्ता सामानको उपलब्धता मेलामार्फत हुने जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि थाई राजदूत भुट्टी भुट्टीसान्टले वर्षौदेखि असल मित्रको रुपमा रहँदै आएको नेपाल र थाइल्याण्डबीच थाइल्याण्ड–नेपाल फेस्टिबलले नजिकको सम्बन्ध स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल थाइल्याण्डका लागि संभावनायुक्त बजार रहेको स्पष्ट पार्दै भने–‘धेरै थाई कम्पनी र तिनका प्रोडक्ट नेपालमा विस्तार हुन चाहन्छन, यस्तो चाहनालाई फेस्टिबलले राम्रो प्ल्याटफर्म दिनसक्छ ।’ फेस्टिबलले सरकार–सरकार बीच मात्र नभई जनस्तरको सम्बन्धमा समेत प्रगाढता थप्ने दाबी गरे । 

उनका अनुसार पछिल्लो समय नेपाल र थाइल्याण्डबीचको व्यापारमा मन्दी आइरहेको छ । ‘हामीबीच कुनै राजनीतिक समस्या छैन ।’ उनले थपे–‘तर पनि भनेजस्तो व्यापार आदानप्रदान गर्न सकिएको छैन, यसको कारण खोज्ने र भोलिको संभावनाको ढोका खोल्नका लागि फेस्टिबल महत्वपूर्ण माध्यम बन्नसक्छ ।’ उनले नेपालीहरुमाझ थाइल्याण्ड औधी रुचाइएको गन्तव्य भएको उल्लेख गर्दै गत वर्ष ३३ हजार नेपाली घुम्नका लागि थाइल्याण्ड गएका जानकारी दिए । ‘जसरी नेपालीहरुको भिजिट थाइल्याण्डमा बढिरहेको छ, त्यो गतिमा व्यापार विस्तार हुन सकेन ।’ उनले भने–‘नेपालकै प्रोडक्टहरु पनि थाइल्याण्ड निर्यात गर्न सकिन्छ, तर यो पनि हुन सकेको छैन ।’ मेलाले थाई उत्पादन आयात मात्र नभई नेपाली उत्पादन निर्यातको मार्ग समेत प्रशस्त गर्ने उनले दाबी गरे । 

फेस्टिवलको मार्केटिङ पार्टनर गुड नेटवर्क नामको कम्पनी तथा मार्केटर नामको थाई म्यागजिन रहेका छन् । सिन्थेसिस एक्जिविसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा फेस्टिवल हुने बताइएको छ । फेस्टिवलमा तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामाग्री, जुत्ताचप्पल, विद्युत सामाग्रीका स्टल रहनेछन् । यस्तै, हस्तकलाका उत्पादन, तयारी खाद्य सामाग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवाको प्रदर्शनी पनि अवलोकनकर्ताहरुका लागि प्रमुख आकर्षण बन्ने पत्रकार सम्मेलनमा बताइएको छ । 

फेस्टिबलमा नेपालका तर्फबाट पनि विभिन्न व्यवसायीले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी गर्नेछन् । दुवै देशमा विकास भएका पछिल्ला प्रविधिहरुको आदानप्रदान पनि हुनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले संस्थागत र वृहत रुपमा थाई सरकारको समेत सहकार्यमा पहिलोपटक नेपालमा यस्तो फेस्टिबल आयोजना हुन लागेको दाबी गरे । ‘हाम्रा उत्पादनका लागि विदेशी बजार खोजिरहेका हाम्रो जस्तो देशलाई यो फेस्टिबल राम्रो प्लेटफर्म बन्नसक्छ ।’ उनले भने–‘थाई उत्पादनहरु गुणस्तरीय छन् र कम दाममा नेपालीले ती वस्तु आयात गर्न सक्छन ।’ उनले फेस्टिबलबाट नेपाली बजार तथा उत्पादनहरुको विश्वस्तरमै मार्केटिङ हुने दाबी समेत गरे ।