काठमाण्डौ । धितोपत्र बोर्डले संघीय राजधानी बाहिर पहिलोपटक प्रदेश १ मा प्रादेशिक पूँजीबजार प्रदर्शनी गर्ने भएको छ ।
विश्व लगानीकर्ता सप्ताहअन्तर्गत बोर्डले आगामी असोज १९ र २० गते प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी आयोजना गर्ने भएको हो ।
सो प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवा सम्बन्धी कम्तीमा १०० स्टल रहने बताइएको छ । ती स्टलमार्फत धितोपत्रबजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने तथा सम्बन्धित जिज्ञासाहरुको समाधान गर्ने, धितोपत्रबजार, वास्तविक क्षेत्र, आर्थिक विकास तथा बृद्धि र धितोपत्र व्यवसायी सेवा नेपालको सन्दर्भ सम्बन्धमा दुई प्राविधिक सत्रको व्यवस्थापन र बोर्डका प्रकाशनहरुको निःशुल्क वितरण गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको समेत शुभारम्भ गर्ने योजना रहेको बोर्डले जनाएको छ ।
लगानीकर्ता सप्ताह अन्तर्गत बोर्डले असोज १५ गते धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी प्रभातफेरि आयोजना हुनेछ । असोज १७ गते पम्प्लेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु पत्रपत्रिकामा प्रकाशन गर्ने, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र बोर्डको पुर्नसंरचित लगानीकर्तामैत्री वेबसाइट तथा बजार सहभागीहरु समेतको सहभागीतामा प्रत्येक तीन महिनामा लगानीकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नेछ ।
असोज १८ गते बिहीबार नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडका उच्चपदस्थ कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजीबजार विज्ञलाई संलग्न गराई टेलिभिजनमार्फत अन्र्तवार्ता/अन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने, असोज २० गते लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको शुरुवात गरिने बोर्डको भनाई छ ।