काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले यही असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ। 

कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ।

यो आईपीओमा लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।