काठमाण्डौ । मल्टीपर्पस फाइनान्सको अवितरित १ लाख ४० हजार बढी कित्ता हकप्रद सेयर बिक्रीमा असोज २९ गतेबाट बिक्रीमा राखिने भएको छ। 

कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएको कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा आउने भएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता रहेको छ। 

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्णका लागि खरिद आवेदन दिन सक्नेछन्। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा (चिप्लेढुंगा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर तथा मल्टीपर्पस फाइनान्सको जनकपुरस्थित कार्यालयमामा पेस गर्न सकिनेछ। 

बोलपत्र कात्तिक १३ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।