काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको २० लाख १४ हजार बढी कित्ता सेयर असोज ३० गतेबाट बिक्रीमा राखिने भएको छ। 

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। 

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर (रंगेलीरोड), जलेश्वर (महोत्तरी), सातदोबाटो (ललितपुर), सूर्यविनायक (भक्तपुर), पोखरा (कास्की), कोहलपुर (बाँके), सुर्खेत र महेन्द्रनगर (कञ्चनपुर)मा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १४ गतेसम्म तोकिएको छ।