काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको करिब १४ हजार कित्ता सेयर बिक्रीमा राखिने भएको छ। 

संस्थाको संस्थापक समूहको १३ हजार ८९१ कित्ता सेयर असोज ८ गतेबाट बिक्रीमा राखिने भएको छ। यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

बोलपत्र आउँदो असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। बोलपत्र काठमाण्डौको टेकुस्थित धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा पेस गर्नुपर्नेछ।