काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले गरेको केही व्यवस्थाले बैंकहरुको नाफा ह्वात्तै घट्ने र यसले सेयर बजारलाई समेत नराम्ररी प्रभावित गर्ने विश्लेषणले बढ्न खोजेको लगानीकर्ताको मनोबललाई पुनः गिराइदिएको छ । 

नेपाल राष्ट्रबैंकले सोमबार राति आन्दोलनरत व्यवसायीहरुको ब्याज घटाउने मागलाई सम्बोधन गर्ने भन्दै मौद्रिक समीक्षा सार्वजनिक गरेको थियो । तर, ब्याजदर नियन्त्रण गर्ने नाममा केन्द्रीय बैंकले बैंकहरुलाई नै समस्यामा पार्ने केही व्यवस्था आएको भन्दै बैंकरहरुले तीव्र गरिरहेका छन्।

बुधबार बसेको बैंकर्स संघले मौद्रिक समीक्षाले आफूहरुको विजिनेश चौपट हुने र यसले बित्तीय बजारमा संकट ल्याउनसक्ने भन्दै त्यसको विरोध जनाएको छ । 

कतिपय बैंकरहरुले मौद्रिक नीतिले सेयर बजारलाई समेत बेवास्ता गरेको र ब्याजदर घटाउने र तरलता बढाउने नाममा आएका कतिपय व्यवस्थाले बजार प्रभावित हुने भन्दै त्यसको विरोध गरेपछि यसको बजारमा नकारात्मक प्रभाव देखिएको हो। 

बैंकर र लगानीकर्ता संघसंगठनको विरोधले मुद्रा र पूँजीबजार नै अन्यौलमा पर्ने देखिएपछि लगानीकर्ता हच्किएका हुन् । 

विश्लेषकहरुले सरकारी नीतिको ढुलमुले प्रवृति र चाँडो चाँडो परिवर्तन भइरहने अस्थिर नीतिका कारण समेत बजारमा नकारात्मक प्रभाव परिरहेको बताएका छन् । 

मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमार्फत आएका केही व्यवस्थाले ब्याजदर घट्ने खबरले मंगलबार लगानीकर्ता उत्साहित हुँदा नेप्से परिसूचक २२ अंकले बढेको थियो । तर, बुधबार १२.७२ अंकले घटेको हो ।

यो दिन उत्पादनमूलक समूह ८.६९ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह ८.७१ अंकले घटेको यो दिन जीवन बिमा समूहमामा १६७.८३ अंक, निर्जीवन बिमा समूहमा १०५.४५ अंक, माइक्रोफाइनान्स समूहमा १९.३३ अंक, विकास बैंक समूहमा १३.४२ अंक, होटल समूहमा ७.८३ अंक, जलविद्युत समूहमा २० अंक, बित्त समूहमा ०.३१ अंक र अन्य समूहमा ४.२७ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कारोबार रकम समेत घटेको छ । कारोबार रकम र नेप्से परिसूचक समानान्तर ढंगले घट्न थाल्नु राम्रो संकेत होइन । यसले आगामी दिनमा बजार अझै घट्ने संकेत गर्छ । 

यो दिन बजारमा १६२ कम्पनीका ६ लाख ८१ हजार १३८ कित्ता सेयर १६ करोड ६१ लाख ७३ हजार ६२८ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन कुनै पनि कम्पनीको कारोबार १ करोड माथि भएन । सबैभन्दा बढी अपर तामोकाशीले ९३ लाख बढीको कारोबार गर्यो । नवील बैंकको ९० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंककै ७१ लाख बढीको साधारण सेयर समेत किनबेच भयो । 

नेपाल बैंकले ६७ लाख, सिद्धार्थ बैंकले ६२ लाख, नागरिक लगानीकोषले ६१ लाख, एनएमबी बैंकले ६० लाख, छिमेक लघुवित्तले ५८ लाख, प्रभू बैंकले ५३ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि चौतारी लघुवित्तको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यस्तै, श्रीराम सुगर मिल्सको मूल्यमा ९.४० प्रतिशतको बढोत्तरी भयो ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको मूल्यमा सबैभन्दा बढी गिरावट आयो । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्यो ।