काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघको ६३ औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सिर्जनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ’, उनले भने, ‘हामीकहाँ छोटो–छोटो समयमा नीतिहरु परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरु लाग्ने गरेको देखिन्छ। यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन।’

ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल गर्न आवश्यक रहेको बताए। ‘अहिले सरसर्ती हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ। यसले गर्दा धेरै व्यवसायी साथीहरु आतंकित भएको जस्तो पनि देखिन्छ’, उनले भने, ‘केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरुलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो। त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए।’

‘अहिले बजारमा देखिएको तरलताको अभाव भनौँ वा आर्थिक गतिविधिमा देखिएका मन्दिहरु सबै अस्थिर नीतिसँग जोडिएका छन्’, ढकालले भने, ‘यसले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ।’ 

सरकारी राजश्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए। ‘सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ। यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ। यो धेरै नै महत्वपूर्ण छ। कतिपय नीतिहरु सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिँदैन’, उनले भने, ‘व्यवसायीहरुको पनि अपनत्व हुदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ।’ 

त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालहरुसँग गहन छलफल गर्नुपर्ने ढकालको सुझाव थियो।