►कृष्णराज लामिछाने
नेपालको सेयरबजार यथार्थमा भन्दा पनि हौवाको भरमा चलिरहेको छ । हल्लै हल्लामा कहिले म्यासिभ रुपमा बढेको हुन्छ, कुनै बेला डरलाग्दो गरी घटिरहेको हुन्छ । तर, अहिलेको अवस्थामा सेयर बजार घट्नुपर्ने कुनै कारण नै छैन । जुन बैंक तथा बित्तीय संस्थाले २०–२५ प्रतिशत लाभांश दिने क्षमता राख्छन्, तिनीहरुको सेयर मूल्य नै ३०० रुपैयाँ भन्दा तल आइसक्यो । यो त अचम्म भइरहेको छ बजारमा । यस्तो त हुनै नसक्ने कुरा हो ।
हल्ला आयो–बामपन्थीको सरकार बन्ने बित्तिकै सेयर बजार खस्किन्छ रे । कतिपयले यही डरले सेयर बेचे, बाठाले यही बेला सेयर किने । यस्ता कुरा सबै बेकारका हुन् भनेर लगानीकर्ता प्रष्ट हुनुपर्छ ।
अहिलेको संविधान अनुसार सरकार बन्ने हो, संविधानमा आर्थिक स्वतन्त्रता हुनेछ भनेर बकाइदा लेखिएको छ । आफ्नो व्यवसाय गर्न पाइन्छ । कुनै पनि पार्टीले निरकुंशता लाद्ने भनेका छैनन् । तात्विक रुपमा नेपालमा भएका पार्टीबीचमा त्यत्रो ठूलो फरक पनि छैन । संविधानले प्रष्ट रुपमा व्यापार व्यवसाय गर्ने, धनसम्पत्ति आर्जन गर्ने स्वतन्त्रता प्रदान गरेको छ । बिक्री खरीदमा समेत उस्तै स्वतन्त्रता दिएको छ । बामपन्थीको सरकार आए यस्तो हुन्छ, कांग्रेसको सरकार आए उस्तो हुन्छ भन्ने कुरा वाहियात तर्क हो । यस्ता हल्लाहरुको पछाडि लागेर बजारमा खरीदबिक्रीको हतारो गर्नेहरु डूूब्ने निश्चित देख्छु म ।
मेरो विचारमा सेयर बजार बढ्नुपर्ने अवस्था हो । अहिले नेपालका राजनीतिक दलहरु बामपन्थी र लोकतान्त्रिक गठबन्धनमा ध्रुवीकृत छन् ।
लोकतान्त्रिकले जित्न पनि सक्छ, बामपन्थीले पनि जित्न सक्छ । जसले जिते पनि स्थायी सरकार हुन्छ । दिगो भएर अबको पाँच वर्षमा नेपालको आर्थिक गतिविधि व्यापक बन्नेछ । यहाँको आर्थिक परिदृश्य नै फरक हुन्छ, आर्थिक गतिविधि अझ बढ्छ । यस्तो स्वर्णिम युुगको पूर्वसन्ध्यामा सेयर बजार त उल्टो बढ्नुपर्ने हो । नेपालमा अन्यौलको अवस्था छैन, सही ट्रयाकमा आउँदैछ मुलुक । यो अवस्थामा चुनाव भइसकेपछि स्थिर सरकार बन्छ, त्यसपछि आर्थिक क्रियाकलापले प्रोत्साहन पाउँछ, मजबुत बन्छ भनेर बढ्नुपर्ने ठाउँमा घटिरहेको छ ।
अहिलेको बजार बुझिनसक्नुु बनाइएको छ । बजार घट्नुपर्ने कुनै कारण नै छैन ।
गएको महिनादेखि देश बचतमा छ । ३ प्रतिशतको आसपासमामा मुद्रास्फिति छ । बैंकहरुले पनि राम्रो गरेका छन् । सरकारले पोहोर सालसम्म खर्बौ रुपैयाँ ढुकुटीमा थन्काउथ्यो, अहिले त्यस्तो अवस्था छैन, सबै ग्रास रुटमा बाँडेको छ । रिसोर्सको कमी छैन । आज भन्दा पहिला कति द्वन्द्व हुन्थ्यो, उद्योगमा कति धेरै हड्तालहरु हुन्थे ! अहिले आनन्द छ, यति राम्रोे बेलामा पनि सेयर बजार घट्दा म आश्चर्यमा पर्छु ।
खेल्न सक्छन्
कसैलाई दोष त दिन चाहँन्न । तर, बजारमा खेल्नेहरुको कमी छैन । अरुले खेले भन्दैमा लगानीकर्ता उनीहरुको गेममा खेलिन भएन । केही मान्छेहरुलाई अत्याएर बिक्री र खरीदको निर्णय गराउनसक्ने गिरोह यस्तो बेलामा सक्रिय हुनसक्छन् । यहाँको सेयर बजारमा निकै ठूला खेलाडी छन् । त्यसतर्फ म जान चाहँन्न । तर, हावाको पछि कुद्न भएन । बरु कुनै पनि सूचिकृत कम्पनीको विगतको अवस्था के छ, कसले चलाइरहेको छ, रिटर्न कति दिइरहेको छ, यसको साइज कत्रो छ भनेर विश्लेषण गरेर लगानीको निर्णय लिनुपर्छ । तर, ठीक उल्टो बढ्न थालेपछि किन्ने, घट्न थालेपछि बिक्री गर्ने गलत प्रवृति लगानीकर्तामा हाबी देख्छुु । धैर्य गर्न जान्नुपर्छ लगानीकर्ताले । बैंकहरुको रिटर्न नराम्रो छैन । बिमा कम्पनीहरुको कुरा गर्ने हो भने भर्जिन मार्केट छ नेपालमा । देशको कुल जनसंख्याको १० प्रतिशतसम्म पनि बिमाको व्यवसाय बिस्तार हुन सकेको छैन । यसको अर्थ बिमा कम्पनीहरुमा समेत अथाहा संभावना देखिन्छ ।
बन्दहड्ताल छैन, आर्थिक स्थिरता भइरहेको छ, मजबुत सरकार आउने संभावना छ । दुवै गठबन्धनको आर्थिक नीति प्रष्ट छ । लोडसेडिङ छैन । युनियनहरुको गतिविधि छैन, खुलेआम व्यापार व्यवसाय भएको छ । असुरक्षा छैन । यसरी माओवादी द्वन्द्वको बेला त नघटेको सेयर बजार यति राम्रो अवस्थामा कसरी तल झर्छ ? किन झरिरहेको छ ? अचम्म भइरहेको छ हाम्रो बजारमा ।
तर, भविष्य उज्वल
सेयर बजारको भविष्य उज्वल देख्छुु । भारतमै हेर्नुहोस्, त्यहाँको परिसूचक ३३ हजार पुगिसक्यो । नरेन्द्र मोदी सत्तामा आउनुुअघि २७ हजार आसपासमा थियो । हेरिराख्नुुहोला अबको चुनावपछि नेपालमा यति ठूलो लगानीको वातावरण बन्छ नि, त्यसले निकै ठूलो कायापलट गरिदिनेछ । तसर्थ, बजारका लगानीकर्ता बिल्कुल आत्तिनुपर्ने अवस्था होइन । निर्वाचनलगत्तै नयाँ सरकार बनिसकेपछि सेयर बजार बुम हुन थाल्छ ।
(महालक्ष्मी बैंकका सीइओ तथा विश्लेषक लामिछानेसँगको कुराकानीमा आधारित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago