गत हप्ता शेयर बजारको आकाशमा केही कालो बादलका छिर्का देखा परे । जसका कारण केही नयाँ तथा पुराना लगनीकर्तामा एक किसिमको द्विविधा पैदा भएको हुन सक्छ । यसको अर्थ बजारमा ठूलै हावाहुरी, वर्षा, हिमपात र वज्रपात नै हुन आँटेको भने पकै होइन ।

लगातार झन्डै साढे दुई सय अंक बढेको बजारमा गत हप्ता केही करेक्सन आएपछि लगानीकर्तामा केही द्विविधा आएको हुनुपर्छ– अब पाल्ने कि फाल्ने ?

यो प्रश्नको जबाफ हरेक लगानीकर्ताको आफ्नो आवश्यकता र बाध्यतामा पनि  भर पर्ने कुरा हो । तर अहिले शेयर फाली हाल्ने बेला भने होइन । 

शेयरबजार मात्र एउटा त्यस्तो ठाउँ हो, जहाँ लगानीकर्ताले १० गुनासम्म प्रतिफलको आश गरेको हुन्छ र त्यो सम्भव पनि छ । यो त्यतिबेला सम्भब हुन्छ जति बेला लगानीकर्ताले धैर्यता गुमाउँदैन । 

बजार सधँै एकोहोरो बढ्दैन घट्छ पनि भन्ने एउटा उदाहरण हो यो । घटी पनि राख्दैन एक दिन फेरि बढ्छ पनि भन्ने हो । बजार जति करेक्सन हुँदै अगाडि बढ्यो त्यति नै बलियो र मजबुत हुने हो ।

सुन र फलामलाई पगालेर आफ्नो आकार बनाएजस्तै बजार केही घटेर आफ्नो आकार बनाउँछ र आफ्नो दिशा लिन्छ । 

शेयर बजारको एउटा सुन्दर पक्ष के हो भने यसले सधैँ सबैलाई समेटेर लग्ने हुँदा आफू केही पछि हटेर छुटेका लगानीकर्तालाई समेत समेट्छ । 

लगानीकर्ताले यो बेला थारो गाई बेचेर लहिनो किन्ने बेला पनि हो यो । लगानीकर्ताले आफ्नो पोर्टफोलियो परिवर्तन पनि गर्न सक्छन् । 

गत हप्तामात्रै साढे ८ अर्बजति कारोबार भएको बजारमा धेरै साना, ठूला र नयाँ लगानीकर्ता प्रवेश गरेका छन् । बजारमा केही घटबढ हुँदैमा अहिले लगानीकर्ता आत्तिहाल्न्नुपर्ने कुनै तात्विक आर्थिक र राजनीतिक अदलबदल देशमा आएको छैन । समुद्रमा पौडी खेल्नेहरु कहिलेकाहीँ ज्वारभाटाको सामना गर्न तयार हुनुपर्छ । मुख्य कुरा लगानीकर्ताले आफूले कस्तो कम्पनी किन्यो भन्ने हो । 

५–१० रुपैयाँ  सस्तो–महँगो शेयर बजारमा सामन्य हो । दीर्घकालीन रुपमा पाल्न सके राम्रा कम्पनीले राम्रै प्रतिफल पनि दिन्छ । बजारमा एक किसिमको गति आएकोले आगामी हप्ता नयाँ पुराना सबैलाई बजार पस्ने अवसर हुन सक्छ ।  

शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्, ‘शेयर बजारको भविष्य कहिल्यै सुपुष्ट हुँदैन । तपाइँले उच्च मूल्यलाई मात्र त्यो बेला महत्व दिनु हुन्छ तर यस्तो लगानी लामो अवधिको मूल्यमात्र वास्तविक साथी हुन्छ ।’ 

यसको अर्थ हो तपाइँले बजार बढ्दा लगानी गर्नुभएको छ भने केही समय कुर्नुको विकल्प छैन । केही समय कुरेपछि नै तपाइँले हालेको मूल्य र नाफा आउँछ । जसमा धैर्यताको पनि खाँचो हुन्छ । 

शेयर बजार एक किसिमको खेल नै हो ।  भलिबल खेलमा एउटा टिमले गरेको गल्तीबाट अर्कोले नम्बर पाएजस्तै एकजनाको गल्ती अर्कोले कमाउने हो ।  एउटा लगानीकर्ताले बेचेर अर्कोले किन्ने हो र अर्कोले किन्ने आँट गरेर दोस्रो लगानीकर्ताले बेच्ने हो । 

बजारमा तपाइँका आसपासका साथीभाइ नै तपाइँका प्रतिस्पर्धी हुन् । त्यसैले बजारबाट सधैँ साँचो कुरा नै भेटिन्छ भन्ने हुँदैन । आफ्नो अध्ययन र लगनशीलता पनि खाँचो हुन्छ । 

शेयर र श्रीमतीमा के फरक छ त ? 

बजारमा महिला लगानीकर्ता पनि हुनुहुन्छ यसमा कुनै असर पर्न गएमा यो पंक्तिकार क्षमायाचना गर्छ  । सामान्यतय कुनै एउटा वस्तुलाई मानवसँग तुलना गर्नु वस्तुपरक हुँदैन । तर पनि यहाँनेर बजार र महिलाको स्वभाव मिल्दोजुल्दो हुन्छ मात्र भन्न खोजिएको हो । दुवैको मौसम छिट्टै परिवर्तन भइदिने । यथार्थमा दुवै पाल्ने चिज नै हुन् । 

राम्रो कम्पनी छानेर किन्न सके तपाइँलाई शेयरले नै पालिदिन्छ । अहिले गरेको लगानीलाई पेन्सन फन्ड अथवा उपदानका रुपमा आफ्नो भबिष्यमा पर्ने आवश्यकता पूर्तिका लागि लगानी गर्न सक्नुहुन्छ । 

शेयरको मूल्य बढ्दै गएपछि यदि तपाइँको लगानी दुई–तीन गुना बढ्छ भने जिरो इन्भेस्टमेन्ट पोलिसीअन्तर्गत शेयर फाल्न पनि सक्नुहुन्छ ।

के हो त जिरो इन्भेस्टमेन्ट भनेको ?

यो पंक्तिकारसँग पूर्वी अस्ट्रेलियादेखि पश्चिम अमेरिकासम्म एक लाखदेखि दसाँै करोड लगानी गर्ने लगानीकर्ताको एकै खालको गुनासो हुन्छ– सेयर किनेपछि घट्छ र बेचेपछि बढी दिन्छ । के छ उपाय ? यसमा जिरो इन्भेस्टमेन्ट पोलिसी अपनाउनुबाहेक कुनै उपाय देखिन्न । यो पोलिसी भनेको त्यस्तो उपाय हो, जसले तपाइँलाई भोलि बजार बढे पनि आफूसँग शेयर हुन्छ र घटेदेखि फेरि किन्ने पैसा हुन्छ । अर्थात् तपाइँको लगानीलाई जिरो बनाउने । 

खासगरी बढ्दो बजारमा यो पोलिसी उपयुक्त हुन्छ । 

कसरी हुन्छ त लगानी जिरो ? 

मानौँ आज तपाइँले १० लाख रुपैयाँ शेयर बजारमा लगाउनुभयो । बजार बढ्दै गयो र तपाइँको लगानी २० लाख भयो भने अब तपाइँले १० लाखको शेयर बेचेर बजारबाट पैसा झिक्ने र आफ्नो नाफाको मात्र सेयर बजारमा छोड्ने ता कि भोलि बजार जे भए पनि कुनै असर नपरोस् । यसलाई भन्छ जिरो इन्भेस्टमेन्ट पोलिसी । 
शेयर बजारमा अहिले नै यसो गर्ने अवस्था त आएको छैन तर भबिस्यमा  बजार बढ्दा यो पोलिसी निकै उपयुक्त देखिन्छ । 

ठूलठूला लगानीकर्ता र म्युचुअल फन्डले बजार बढ्दै गएपछि केही निश्चित रकम झिकेर त्यो पैसालाई पुन फिक्स डिपोजिटमा राख्ने अथवा अर्को क्षेत्रमा लगानी गरेको पाइन्छ । जुन पोलिसी विश्वव्यापी रुपमा प्रचलित पनि छ । जसलाई सही तरिकाले उपयोग गर्न सके सानाठूला सबै लगानीकर्तालाई उपयोगी देखिन्छ ।