– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजार पछिल्लो समय घट्दो ट्रेन्डमा छ। गत वर्ष भदौमा ३२०० को उचाइ चुमेको बजार अहिले १९०० को आसपास घुमिरहेको छ। 

बैंकको ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि उल्टो हुन्छ। अहिले बैंकको ब्याजदर बढिरहेको छ भने बजार घटिरहेको छ। विभिन्न नीतिगत व्यवस्थाले पनि बजारमा दबाब परिरहेको छ। 

बजारको पछिल्लो अवस्थाबाट लगानीकर्ताहरुमा निराशा छाएको छ। यो बेला बजारमा कस्तो रणनीति अपनाउँदा उचित होला भन्ने अन्यौलतामा लगानीकर्ता देखिन्छन्।

बजारको ३ वटा बुल र ३ वटा बियरको अनुभव बटुलेका डिलेन्द्र पाण्डे यतिबेला कम्पनीले दिने लाभांशभन्दा बैंकले दिने ब्याजले बढी नाफा कमाउन सकिने बताउँछन्। ‘तरलता संकट परिरहेकोले बैंकहरु अहिले निक्षेप तान्न राम्रो ब्याज दिएर रकम जुटाउन लागिपरेका छन्’, उनले भने, ‘विश्वभरि आर्थिक मन्दीको त्रास बढेको छ। अहिले सेयर बजारसँगै कम्पनीहरुको नाफा पनि घटेको छ। यस्तो बेला सेयर बजारको रिटर्नभन्दा बैंकमा पैसा राख्दा बढी प्रतिफल पाइन्छ।’

अहिलेको अवस्थामा ऋण लिएर सेयरमा लगानी गर्नु निकै जोखिमपूर्ण हुने पाण्डेको भनाइ छ। ‘यदि आफूसँग करिब ३ वर्षका लागि होल्ड गर्न सक्ने रकम छ भनेमात्र सेयर बजारमा लगानी गर्नु उचित हुन्छ’, सुझाव दिँदै उनले भने, ‘यो बेला कम्पनीको आधारभूत र प्राविधिक पक्ष अध्ययन गरेरमात्र लगानी गर्नु बुद्धिमानी हुन्छ।’ 

बजार धेरै घटिसकेपछि प्रत्येक करेक्सनमा आफूसँग रहेको रकमको १० प्रतिशतले लगानी गर्दै जाँदा दीर्घकालमा राम्रै नाफा कमाउन सकिने पाण्डेको भनाइ छ। ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय आर्थिक गतिविधि सहज हुँदै गएमा बैंकहरुमा तरलता पनि बढ्दै जान्छ, त्यसपछि सेयर लोनको उपलब्धता पनि बढ्दै जाला’, उनले भने, ‘आर्थिक गतिविधि सहज भएपछि कम्पनीको आम्दानी पनि बढ्दै जाने भएकोले त्यतिबेलामात्र लाभांश खानका लागि सयेर खरिद बढाउनु उचित हुन्छ।’

अर्थतन्त्र चलायमान भएसँगै आमलगानीकर्ताको सेयर बजारप्रति विश्वास बढ्दै जाने पाण्डे बताउँछन्। ‘अवस्था सहज बन्दै गए बैंकहरुको ब्याजदर पनि घट्दै जान्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा सेयर बजारमा लगानी गरेर राम्रो कमाइ गर्न सकिन्छ।’

सन् २०१६ को बुलमा सेयर बजारबाट घर–गाडी जोड्न सफल अर्का अनुभवी लगानीकर्ता सूर्य तामाङ बजारमा अध्ययन गरेर लगानी गर्दा दोहोरो नाफा आर्जन गर्न सकिने बताउँछन्। बजारमा धेरै उतारचढाव व्यहोरेका तामाङ आफूले चिलिमे हाइड्रोपावर ४०० रुपैयाँमा किनेर २५०० रुपैयाँमा बचेको अनुभव सुनाउँछन्। ‘बढ्दो बजारमा लगानी गर्दा लाभांश र बजारले दिने नाफा दुवै लिन सकिन्छ’, उनले भने। 

त्यसो त तामाङसँग तीतो अनुभव पनि रहेको छ। ‘२२०० रुपैयाँमा किनेको नेपाल लाइफको सेयरभाउ अहिले ६०० रुपैयाँको आसपासमा झर्दा ठूलो घाटा भएको छ’, उनले भने, ‘विगतमा राम्रो लाभांश दिने कम्पनीले पनि पछि गएर नदिन सक्छन्। यसबाट मैले राम्रै पाठ सिकेको छु।’