काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ३० पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा पालिकामा नेकपा एमाले, ९ वटा पालिकामा नेपाली कांग्रेस, ६ वटा पालिकामा माओवादी केन्द्र र २ वटा पालिकामा एकीकृत समाजवादीका उम्मेदवारहरु विजयी भएका छन्। 

एमालेबाट मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले, मनाङको चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले, 
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा रिङजिन नामगेल गुरुङ, मुस्ताङकै लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी न्वर्वु गुरुङ, डोल्पाको से फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा धावा सम्डुङ गुरुङ र सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरि शेर्पा विजयी भएका छन्। 

यसैगरी बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा मानबहादुर बोहोरा, नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा, बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा प्रकाश रोकाया विजयी, मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा प्रदीप गौचन, म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा वेगप्रसाद गर्वुजा र तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्ष यादवबहादुर खापुङ एमालेबाट विजयी भएका छन्। 

उता सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कोन्जो तेन्जीङ लामा, मनाङको नासोँ गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिकाको अध्यक्षमा मोहनसिंह लालचन, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्षमा भैरवबहादुर साउद, हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर रावल र बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा तथा गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा खिलध्वज पन्थी विजयी भएका छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रबाट डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नारसिङ रोकाय, दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छविराम सुवेदी, बागलुङ ताराखोला गाउँपालिकाको अध्यक्ष धनबहादुर विक, उदयपुर लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजरकुमार राई, रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा ऋषिकेशव बुढामगर र खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेवी राई विजयी हासिल गरेका छन्।

नेकपा एकीकृत समाजवादीबाट भने डोल्पाको छार्का साङतोङ गाउँपालिकाको अध्यक्ष सेनाङ गुरुङ र डोल्पाको काइके गाउँपालिकाको अध्यक्ष अंगदकुमार राना विजयी भएका छन्।