काठमाण्डौ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावमा आज दिउँसोसम्म ३२ प्रतिशत मतदान भएको छ। 

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आज दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको जानकारी गराएको हो। चिसो मौसमका कारण आज बिहान कम मत खसेको थियो’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘बिहान १०–११ बजेदेखि भने मतदाताको लाइन बढ्न थालेको छ। मतदान दिउँसो अझै बढ्ने विश्वास छ।’

केही ठाउँमा भएका छिटपुट घटनाबाहेक मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा भइरहेको पौडेलको भनाइ छ। 

निर्वाचन आयोगले यसपालि ७० प्रतिशत मतदान हुने विश्वास गरेको छ। 

उता गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन्। काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न मतदानस्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्।