काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज सोमबार बाँडफाँड हुँदैछ । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा बिहान ९ बजेदेखि एक समारोहबीच आइपीओ बाँडफाँड हुने भएको हो । 

कुल मागभन्दा १३ गुणाभन्दा बढी आवेदन परेपछि ८७% भन्दा बढी आवेदन रित्तो हात फर्किनुपर्ने भएको छ । यसको अर्थ १३% भन्दा कम आवेदन भाग्यमानी साबित हुनेछन् । 

यो कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता साधारण सेयर निश्कासन गरेको थियो। 

आइपीओमा कुल ३ लाख ८ हजार ४१४ आवेदकबाट ५४ लाख ५७ हजार ३४० कित्ता खरीदका लागि आवेदन परेको छ । 

कुल निश्कासित कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ १० कित्ताको दरले कुल आवेदकमध्ये ३७ हजार ५०० भाग्यमानीले मात्र सेयर पाउनेछन् । २ लाख ७० हजार बढी आवेदकको हात रित्तो हुनेछ । 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तले कुल आईपीओमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्नेछन् भने कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत सेयर कायम हुनेछ ।

यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।