काठमाण्डौ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोश्रो बजारमा आज सोमबारदेखि कारोबारमा आएको छ ।

नेप्सेले यो कम्पनीलाई कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६  पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यस्तै कारोबारका लागि एकेबिएसएल कारोबार संकेत समेत प्रदान गरेको छ ।

नेप्सेसँग कम्पनीको आइतबार सूचिकरण सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले निश्कासन गरी बाँडफाँड गरेको आइपीओसहित कुल १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ।

यो कम्पनीले गत असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओको बाँडफाँड असार ३० गते भएको थियो ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले स्याङ्जा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ्ग गरी १० जिल्लामा फैलिएका आफ्नो १९ शाखाबाट सेवा दिंदै आइरहेको छ ।