काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ भन्ने मूल नाराका साथ नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत विजेता घोषित भएका छन्। आइएमई काउन्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत छनोट गर्दा दुवैजना विजेता बन्न सफल भएका हुन्। व्यवसाय प्रवर्द्धनमुखी यस्ता स्किममार्फत व्यावसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो। कोभिडका कारण बाहिरी देश भ्रमणका लागि उपर्युक्त समय नभएका कारण सोही भ्रमणका लागि लाग्ने खर्च रु. ३ लाख (रु. १ लाख ५० हजार प्रतिविजेता) आइएमई पे एपमार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेन्ट आउटलेट संञल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्।  यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ। 

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।  मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।  

पन्ध्र लाखभन्दा बढी ग्राहकले सीधै आइएमई पे डाउनलोड गरी आफ्नै मोबाइलबाट र आइएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ।