काठमाण्डौ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ। समझदारीअनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन्। 

सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ। धेरै टेक फर्महरुले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरुका लागि थुप्रै अवसरका ढोकाहरु पनि खोलिदिएका छन्। 

वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरिका अवरोधहरुको समाधान निकाल्न नयाँ–नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन्। समझदारी यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दै गरिएको थियो। युवापुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको छ। 

दुई पक्षबीच सम्पन्न समझदारीमा मल्पी इन्टरनेशनल कलेजले प्रशन्नता व्यक्त गर्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग प्रमुख सुवास गौतमलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

कोरोना महामारीका कारण उक्त समझदारी भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो। 

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।