काठमाण्डौ । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ ।

कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देशका साथै मुलुकका आठ वटा अलग- अलग कन्सर्ट गर्न लागेको छ ।

कन्दरा ब्यान्डले आगामी पुस २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट  प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ ।

पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाण्डौमा समापन गर्ने लक्ष्य गरेको कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले बताएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्द्धन गरेका  छन्  ।

दर्शकले आइएमई पेबाट टिकट लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।